डिभिजन वन नवलपुरको चरम लापरबाही : पोस्टमार्टम नगरी गाडियो मृत बाघ

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ५ गते ७:४२
डिभिजन वन नवलपुरको चरम लापरबाही : पोस्टमार्टम नगरी गाडियो मृत बाघ

कावासोती । नवलपुरको मध्यविन्दुमा मृत अवस्थामा फेला परेको बाघको पोस्टमाटम नगरी जमिनमा गाडेर अन्त्यष्टी गरिएको छ ।

अति संकटापन्न सुचीमा परेको पाटे बाघ नवलपुरको मध्यविन्दु-१० मा मृत अवस्थामा फेला परेको थियो । अन्दाजी १०/१२ वर्षको देखिने मृत अवस्थामा फेला परेको बाघलाई मुचुल्का मात्रै उठाएर जमिनमा गाडेर अन्त्यष्टी गरिएको हो ।

१०६ ईन्च लम्बाइ, ६४ ईन्च गोलाई भएको व्यस्क बाघ मृत अवस्थामा फेला परे पछि घटनास्थल पुगेको डिभिजन वनको टोलिले मुचुल्का गरेर बाघलाई सोही स्थानमा गाडेको हो । सब डिभिजन वन कार्यालयका अरुणखोलाका अधिकृत अर्जुन सापकोटाको उपस्थितिमा बाघको मृत शरीरलाई बिना पोस्टमार्टम गाडिएको हो।

करिब १०/१५ दिन अगाडि मरेको भाले बाघ गलेको अवस्थामा फेला परेको हो । बाघको शरीर कुहिएको अवस्थामा भएकाले पोस्टमार्टम नगरी फेला परेको स्थानमा खाल्डो खनेर गाडिएको डिभिजन वन नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले बताए ।

मृत अवस्थामा फेला परेको बाघलाई गाडनु अगाडी पोस्टमार्टम अनिवार्य भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता बेदकुमार ढकालले बताउछ्न । “बाघको मृत्युको कारण पत्ता लगाउन पनि बाघको शरीरलाई पोस्टमार्टम गर्नु अनिवार्य हुन्छ” ढकाले भने , कर्मचारीको उपस्थितिमा पशु चिकित्सक विना गाडिएको भए त्यो गलत भयो ।” उनका अनुसार बाघ बूढो भएर मरेको अनुमान डिभिजन वनले गरे पनि पशु चिकित्सकको उपस्थित बिना बाघ शरीरलाई पोस्टमार्टम नगरी जमिनमा गाडनु गलत भएको हो ।

बाघ मृत फेला परेको स्थान आसपास पहिले पनि बाघ देखिने गरेका र यहि स्थानमै व्यस्क बाघ मृत अवस्थामा फेला पर्नु स्वाभाविक मान्न नहुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारी बताउछन । “यो डिभिजन वनको कार्य क्षेत्र भएकाले हामीले जानकारी लिने सम्म काम गरेका छौ, यो क्षेत्रमा बाघ मृत फेला पर्नुलाई स्वाभाविक रुपमा लिन सकिन्न” तिवारीले भने ।

पछिल्लो समयमा नवलपुरमा मानव र बाघ बिच द्वन्द बढेको बेला बाघ मृत फेला पर्नु स्वाभाविक घटना आफैमा होइन तर बाघको मृत्युको कारण खोज्न छोडेर पशु चिकित्सकको उपस्तिथि बिना मृत बाघलाई पोस्टमार्टम नगरी गाडनु नियमनकारी निकाय डिभिजन वनको चरम लापरबाही र गैर जिम्मेवार काम भएको भन्न सहजै सकिन्छ ।

प्रकाशित : २०८० फागुन ५ गते ७:४२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI