समाचार प्रभाव : गाडिएको बाघलाई खाल्डा बाट निकालेर पोस्टमार्टम गरियो

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ५ गते १८:४७
समाचार प्रभाव : गाडिएको बाघलाई खाल्डा बाट निकालेर पोस्टमार्टम गरियो

कावासोती । नवलपुरको म्ध्यविन्दु-१० अरुणखोलाको जंगलमा मृत अवस्थामा भेटिएको बाघको शनिबार पोस्टमार्ट गरिएको छ ।

मृत अवस्थामा भेटिएको बाघ सडे गलेको भन्दै डिभिजन वनले शुक्रबार पोस्टमार्टम नगरी गाडेको थियो । संकटापन्न दुर्लभ पाटे बाघको मृत्युको कारण पत्ता लगाउन छोडेर पोस्टमार्टम नगरी बाघ गाडेको समाचार नवलपुर टाईम्समा शनिबार बिहान प्रकाशन भएको थियो । समाचार प्रकाशन पछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्देशन पश्चात गाडेको बाघ निकालेर पोस्टमार्टम गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राविधिक किरणबाबु रिजाल र चितवन राष्ट्रिय निकुञ्जका दिनेश ढकाल सहितको टोलिले बाघको पोस्टमार्टम गरेको हो ।

पोस्टमार्टम पछि नमूना संकलन गरेर प्राविधिक टोलिले लगेको सब डिभिजन वन कार्यालयका अरुणखोलाका अधिकृत अर्जुन सापकोटाले बताए ।

पोस्टमार्टममा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राविधिक किरणबाबु रिजालका अनुसार विषाक्त खानेकुराका कारण बाघको मृत्यु भएको हुन सक्ने बताए । बाघको शरिरको बाहिरि भागमा चोटपटक, घाउ केही नदेखिएकाले पनि जुधेर वा जालमा परेर बाघको मृत्युको अन्तिम कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्ट कुर्नु पर्ने रिजालले बताए । “बाघको शरिरको बाहिरी भागमा चोटपटक घाउ केही छैन, जुधेर या जालमा परेर मरेको देखिएन, प्रारम्भिक अनुसन्धानले विषाक्त खानाको कारणले मरेको हुन सक्ने देखिएको छ”, रिजालले भने ।

रिजालका अनुसार बाघबाट गरिएको नमूना संकलन नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा पठाईने छ । बाघ सडिसकेको हुँदा एकिन नतिजा आउने विषयमा आफुहरु पनि ढुक्क नभएको रिजालले बताए । उनका अनुसार विधि विज्ञान प्रयोगशालामा पठाईए पछि नतिजा आउन ८ देखि १० दिन लाग्ने छ ।

शुक्रबार १०६ ईन्च लम्बाइ, ६४ ईन्च गोलाई भएको व्यस्क बाघ मृत अवस्थामा फेला परे पछि घटनास्थल पुगेको डिभिजन वनको टोलिले मुचुल्का गरेर बाघलाई सोही स्थानमा गाडेको हो । सब डिभिजन वन कार्यालयका अरुणखोलाका अधिकृत अर्जुन सापकोटाको उपस्थितिमा बाघको मृत शरीरलाई बिना पोस्टमार्टम गाडिएको थियो ।

प्रकाशित : २०८० फागुन ५ गते १८:४७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI