लिदी पहिरामा बेपत्तामध्ये ३६ को शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १५ गते २०:३६
लिदी पहिरामा बेपत्तामध्ये ३६ को शव फेला

सिन्धुपाल्चोक, १५ भदौ: गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो ।

दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।

कर्मचारीलाई कोरोना प्रभावित स्थानमा आवत–आवतमा रोक

मेलम्ची नगरपालिकामा नगस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगर प्रमुख डम्बर अर्यालको संयोजकत्वमा बसेको बैठकले महत्वपुर्ण पाँच निर्णय गरेको छ । आजको बैंठकले नगरपालिकाका कर्मचारीलाई काठमाडौँ वा कोरोना प्रभावित स्थानमा आवत–जावतमा रोक लगाउने निर्णय गरेको छ ।

अति आवश्यक काममा जानै परेमा व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर जाने र फर्किएपछि दुई हप्ता होम क्वारेन्टिन तथा संस्थागत क्वारेन्टिनमा बस्न लगाउने निर्णय भएको छ । बैठकले प्रभावित जिल्लाबाट मेलम्ची प्रवेशका नाकामा कडाइका साथ रोक लगाउने र अतिआवश्यक काम परेर आउनेलाई होम क्वारेन्टिनमा बस्नका लागि वडा कार्यालयमा जिम्मा लगाउने निर्णय भएको छ ।

त्यस्तै यही भदौ ९ गतेको निर्णयअनुसार नै बजार खुल्ने र बिक्री वितरण गर्ने निर्णयलाई यही भदौ १७ गतेसम्म यथावत रहने निर्णय भएको नगर प्रमुख अर्यालले जानकारी दिए ।-रासस

प्रकाशित : २०७७ भदौ १५ गते २०:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI