गोरु बोकेका तीन ट्रक नवलपरासीमा स्थानीयले नियन्त्रणमा लिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ४ गते १८:११
गोरु बोकेका तीन ट्रक नवलपरासीमा स्थानीयले नियन्त्रणमा लिए

परासी : बाँकेबाट झापातर्फ लैजाँदै गरेका ३ ट्रक गोरु पश्चिम नवलपरासीको सुनवलबाट स्थानीयले नियन्त्रणमा लिएका छन् ।

नियन्त्रणमा लिएका गोरुहरु छाड्ने र कारबवाही गर्ने विषयमा स्थानीय र प्रहरीबीच विवाद भएपछि ट्रकलाई जहाँबाट ल्याइएको हो त्यतै फर्काएको छ । ३ वटा ट्रकमा ८२ वटा गोरुहरु थिए । स्वास्थ्य परीक्षणको प्रमाण पत्रसहित लैजाँदै गरेका गोरुहरु मासु प्रयोजनका लागि लैजान लागेको भन्दै स्थानीय र विश्व हिन्दु महासंघमा आवद्ध सदस्यहरुले रोकेर नियन्त्रणमा लिएका थिए ।

ओसारपसारका लागि आवश्यक पर्ने कागजपत्र भएको पाइएपछि प्रहरीले छाड्न खोजेको थियो । तर स्थानीयले विरोध गरेपछि कानुनी झण्झटका कारण नवलपरासी प्रहरीले रुपन्देही जिल्लाको प्रहरीलाई समन्वय गरेर गोरुहरु फर्काइएको प्रहरीले जनाएको छ ।

भेटनरी प्रमाण पत्रमा स्वस्थ गोरुहरु रहेको जनाइए पनि अधिकांश गोरुहरु वृद्ध अवस्थाका थिए  । केही गोरुहरु ट्रकभित्रै मरेको अवस्थामा रहेका थिए । ओसारपसारको न्यूनतम ढुवानीको मापदण्ड समेत पालना नगरी वृद्ध गोरुहरु ट्रकमा कोचेर लैजान लागेको अवस्थामा रोकेर प्रहरीलाई खबर गरेको स्थानीय हरि भण्डारीले बताए ।

बाँकेको जानकी गाउँपालिकाको रमवापुर पशु हाट बजारबाट खरिद गरी सर्लाही हुँदै झापा लैजानको लागि भेटेरीनरी प्रमाण पत्र दिइएको छ । सर्लाही घर भइ हाल झापा बस्ने निरज सिंहले लैजाँदै गरेको उक्त गोरुको भेटेरीनरी प्रमाण पत्र ब्रहम बाबा सप्लायर्स मकवानपुर–५ पिप्लेको नाममा ओसारपसारको अनुमति दिइएको थियो ।

पश्चिमका विभिन्न जिल्लाबाट दिनहुँजसो पूर्वपश्चिम राजमार्ग हुँदै गोरुहरु ओसारपसार हुने गरेको स्थानीयले बताएका छन् । त्यसरी ल्याइएका गोरुहरु झापाको काकडभिट्टाहुँदै मासु प्रयोजनका लागि बंगलादेशसम्म पुर्‍याउने गरिएको बताइएको छ ।

प्रकाशित : २०७७ पुष ४ गते १८:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI