जनै खटिरा: देख्दा सानो, भोग्दा बिकराल!!

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २ गते २०:३४
जनै खटिरा: देख्दा सानो, भोग्दा बिकराल!!

श्रीधर लामिछाने

जनै खटिरा देख्दा सानो तर जिन्दगी भर कष्ट दिने एक प्रकारको खटिरा हो। यसलाई अंग्रेजीमा हर्पिस जूस्टर (Herpes  zoster) वा  Shingles पनि  भन्छन। देख्दा  पोलेको  जस्तै धेरै फोकै फोक्का हुन्छन । कसै कसैले भनेको सुनेको थिएँ जनै खटिरा आउँदा हड्डी  फुटाएर आउँछ। हुन पनि निकै नै जीउ दुखाएर ज्वरो समेत  आउने रहेछ। एकदम गाह्रो हुनेरहेछ । यो खटिरा पनि फरक फरक हुनेरहेछ । यो जनै  खटिरा शरीर को कुनै पनि भागमा आउने रहेछ । शरीरको कुनै भागमा  छालामा रातो रातो ठुलो ठुलो दाग देखिने  रहेछ भने कुनै दादुरा आएको जस्तो अनि कुनै पोलेको फोका जस्तो । तर यसको आकार  भने आधा जनै लगाए जस्तो देखिने गरि आउने  ।  पुरै शरीरको कुनै भागमा पूर्ण जनै जस्तो आयो भने ज्यानै लिन सक्छ रे भन्नुहुन्थ्यो हाम्रा बा-आमाहरु । त्यसको वारे कुनै अध्ययन अनुसन्धान भए नभएको मलाई थाहा छैन।

जनै खटिरा पनि फरक फरक लक्षण देखिने गरि आउने  रहेछ ।  कुनै आउदा सामान्य ढंगले अलि अलि जिउ दुखेर आउने , कुनैले भने जिउ मात्र दुख्ने हैन ज्वरो नै आउने रहेछ । एकजना जन स्वास्थ्यका विज्ञले पछी भन्थे रोग, रोग  अवरोधक क्षमता कम भएर पनि सजिलै लाग्न सक्छ  ।

यस रोगले गर्दा मैले नराम्रै दुखको अनुभव गर्दै आएको छु, जसले गर्दा मैले बिगत ९ वर्ष देखि लगातार जनै खटिरा आएको ठाउँमा दुखाइ  भोगी रहेको छु। अहिले बाहिर हेर्दा केहि छैन। घाउको खत वा दाग  सम्म पनि छैन । देख्दा केहि देखिदैन तर दुख्न भने यथावत दुखिरहेकै हुन्छ । आउनुहोस यो पीडादायी जनै खटिरा बारे मैले पाएको दुखानुभुती बारे सुन्नुहोस । मैले जति दु:ख पाए पनि अरुले दु:ख नपाओस भन्ने उद्देश्यले यो अनुभव पत्र तयार गरेको छु । यो मेरो नितान्त व्यक्तिगत अनुभवको टिपोट हो । तर अन्य भुक्त भोगी जति लाइ भेटेको छु त्यतिले एक दुइ अपवाद बाहेक सबैले भन्छन यस्तो दुख दिने रोग त कसैलाई नलागोस बा ……….। शत्रु  लाइ पनि नलागोस।

सांकेतिक तस्बिर

बि.स. २०६७ साल तिरको कुरा हो। म त्यतिखेर एउटा शैक्षिक संस्थाको पुर्वान्चलमा काम गर्थे । एकदिन अचानक निद्रा बाट बिउँझदा मलाई जिउ वेस्सरी दुखिरहेको पाए । टाउको पनि दुखिरहेको थियो । अलि अलि ज्वरो पनि महशुस भयो । मुख सुकेको थियो । फेरी निदाउन खोज्दा निद्रा परेन । भोलि पल्ट दिउसो काममा गएँ । काममा मन गएन । तर केहि काम नभ्याई नहुने थियो, संस्थाको साधारण सभा निकट भविष्यमा आइ रहेको थियो । दैनिक नियमित काम बाहेक संस्थाको साधारण सभाको लागि प्रतिवेदन तयार गर्नु पर्ने । स्मारिका प्रकाशन गर्नु पर्ने । मंच व्यवस्थापन आदि आदि धेरै प्रकारको काम तिब्र गतिमा सकाउनु पर्ने थियो ।

म त्यस संस्थाको कार्यकारी भएकोले सम्पूर्ण काम प्रति मेरो जिम्मेवारी थियो । त्यसैले मन लागि नलागी मैले नियमित काम बाहेक पनि थप काम गर्नु पर्ने थियो । जिउ दुखेको पिडा एकातिर अर्को तिर कामको थुप्रो। सकी नसकी काममा व्यस्तताको साथ् कामलाई निरन्तरता दिएको थिएँ । दिउसो करिव तिन बजे तिर निकै नै कठिन भएकोले मैले एकजना साथीलाई बोलाएर आफ्नो हविगत बताएँ । ज्वरोले गर्दा मुख रातो भएको रहेछ। उनले छामेर हेरे र ति साथीले भने सर अस्पताल जाउँ । म उनको साथ लागें ।  दमकमा रहेको एक क्लिनिकमा गएर चिकित्सक लाई आफ्नो सबै पिडा बताएँ । डाक्टरले सामान्य रूपले ज्वरो हेरेर सिटामोल खानु अहिले लक्षण हेर्दा खास केहि भए जस्तो लाग्दैन । २-३ दिन हेरे पछी उस्तै भै राखे आउनुस रगत जाँचेर हेरौँला भनेर मलाई विदा गरे । मैले पनि सायद कामको बोझ र थकाईले होला भन्ने ठानेर फर्कें । अर्को दिन वेलुकी कार्य समितिको बैठक थियो करिव ७ बजे देखि । बैठक लगातार चलिरहेको थियो म सकी नसकी बैठकमा सहभागी भैरहेको थिएँ । करिव १० बजे तिर खानको निमित्त बैठक ब्रेक गरियो । मलाई खाना खान पनि मन भएन । बरु ज्वरो बढेर आयो । मलाई त काम छुट्न थाल्यो । सबै कार्यसमितिका पदाधिकारीहरु बैठकमा आउनु भए पछी मैले सचिब ज्यु र अध्यक्ष ज्यु संग आफ्नो अवस्था बताएँ । उहाँहरुले पनि गारो भएको भए आराम गर्न जानुहोस् भन्नुभयो ।

ओछ्यान मा गएर पल्टिएँ। निकै जिउ दुख्यो, ज्वरो आयो , काम छुट्यो । झन् पछी झन् गारो भयो । तराइ मा चैत महिनामा जाडो निख्री सकेको थियो , तर मलाई एकदम जाडो भयो, सिरक ओढेर सुतें । करिव साढे १२ बजे तिर अति कष्ट भयो अनि शौचालय जाउँ जस्तो लाग्यो । जसरी तसरी शौचालय पुगें । जिउ धेरै चर्किएको हुनाले लुगा येसो खोलेर हेरेको त गुच्चा जत्रा फोका टन्नै नाईटो देखि दाहिने पट्टि करिब ५ इन्च फरक  दाहिने कोखा हुदै दाहिने हातको पातो मुनि सम्म आएको रहेछ । नापेको भए त्यसको लम्बाई करिब एक फिट  हुन्थ्यो होला । आधा जनै बेरेको जस्तो देखिने । त्यो देख्ने वितिक्कै  मेरो शरीर भरि काडा उम्रियो , म त नराम्ररी झस्किएँ । ओहो के भएको होला ? रातको वेला कसलाई देखाउनु , कसलाई सोध्नु ? अर्काको घरमा छु । एक प्रकारले डर पनि लाग्यो । फेरी ओछ्यान पुगेर ढल्किएँ।  निद्रा के आउथ्यो । पानि बेला बेलामा पिउदै गरें ।

भोलि पल्ट बिहानै संस्थाको अध्यक्ष लाइ खबर गरें । उहाँ केहीवेरमा आइपुग्नुभयो । मोटर साइकलमा बसेर बिराटनगरमा चर्म रोग विशेषज्ञ डाक्टर कहाँ गयौं।

डाक्टरले हेर्न साथ् ओहो तपाइलाई त जनै खटिरा पो आएछ । लौ यसले धेरै सताउने भयो, भने । यो घाउ त निको हुन्छ तर दुखाइ भने जिन्दगि भरि जाँदैन । चितामा पुगेर मात्र यसले छोड्छ भनेर मलाई तर्साए । मैले सोचें सायद,  तर्साएको मात्रै हो कि साच्चै त्यस्तै हुन्छ भनेर सोधे । उनले सहि कुरा भनेको हो। यो सारै घामट रोग हो । हेर्दा केहि नभए जस्तो तर भित्र अति पिडा दिने । घाउ निको भए पनि दुख्न छोड्दैन यसले, भने । समयमा आउनु पर्छ नि घाउ पनि छिटो निको हुन्थ्यो अनि सायद दुखाइ पनि पछी सम्म रहने थिएन कि डाक्टर साबले फेरी थपे ? उनले एन्टी भाइरल, एन्टी फंगल अनि एन्टी बायोटिक र दुखाइ  कम गर्ने औषधि लेखि दिए ।  पहिले १० दिन खानु नभए फेरी आउनु होला । डाक्टरले थपे, समयमा नै आउनु भएको भए अथवा अलि युवा उमेरमा भएको भए निको पनि हुन सक्थ्यो कि ?  घाउ निको भए पछी दुख्न पनि छाडथ्यो । तर ५० नाघे पछी यसले निकै दुख दिन्छ अब सहने मात्र हो । म संग विकल्प थिएन । औषधि लिएर घर आएँ । त्यसको ३ दिन पछी साधारण सभा भएको हुनाले मैले साधारण सभामा जसरि पनि वस्नु पर्थ्यो । त्यसैले नदुख्ने औषधि खादै काममा सामेल हुदै रहें । विचमा मेरा अनन्य मित्रहरु  शुभेच्छुकहरु  म विरामी छु भनेर भेट्न आउनुभयो । एक जना साथीले इटहरीका स्थानीय एकजाना बयो बृद्ध राम बहादुर ताल्चाभंडेल  को कथा पनि सुनाएर जानु भयो ।

इटहरीका राम बहादुर उमेरले त्यस्तै ७५/८०  वर्षको हुनुहुन्थ्यो होला त्यति वेला । उहाँलाई पनि जनै खटिरा आएको रहेछ । उहाँको भने दाहिने गाला देखि कान सम्म  आएको रहेछ । उहाँको गलामा मात्र हैन दाहिने आँखामा पनि त्यसले असर पुर्याएको रहेछ । अहिले ९-१० वर्ष पछी पनि आँखा बाट आसु बगी रहने । टेढो देखिने आँखा झिम्क्याई रहनु पर्ने रहेछ । त्यसको केहि समय पछी मैले भेट्दै गर्दा उहाँको हालत उस्तै थियो र अहिले पनि अति दर्द हुने कुरा बताउनु हुन्थ्यो । उपचार गर्न ढिलो भएको भए अन्धो हुने सम्भावना समेत थियो भने रे डाक्टर ले । ओहो कस्तो गाह्रो!

साधारण सभा सकिए पछी म काठमाडौँ गएँ । त्यहाँ काठमाडौँ मेडिकल कलेज (के एम सी ) को चर्म रोग  विभाग पुगें । त्यहाँका डाक्टरले पनि बिराटनगरका डाक्टरले भनेका कुरा दोहोर्याए र सोहि औषधि लाइ निरन्तरता दिनुहोस भनेर पठाए ।  त्यस पछी पनि बेला बेला मा के एम सी गएँ । करिव ५-६ हप्तामा घाउ निको भयो तर दुख्न भने छोडेंन । पोल्ने, घोच्ने, चर्किने भै नै रह्यो । मैले करिव २ महिना मेरो दुखाइ कम होला भन्ने आशामा काठमाडौँमा  नै वसेर उपचार गरें तर निको भएन । दुख्ने दुख्दै रह्यो।  पोल्ने पोल्दै रह्यो । चर्कने चर्की रह्यो ।

यो वीचमा मलाई भेट्न आउने हरेक शुभेक्षुकहरुले केहि न केहि उपाय भनि रहेका हुन्थे । कसैले सेतो दुबोपिनेर त्यसको  लेप लगाउनु पर्छ दुख्दैन भने । कसैले घाउ आएको ठाउँमा बाघको चित्र लेख्नु पर्छ ठिक हुन्छ, सब दुख्ने चर्कने कुरा जान्छ भने । अनि कसैले दसैको जमरा को जुस खाए निको हुने बताए । कसैले मकैको जुँगाको रस पकाएर खानु पर्छ भने त्यो पनि मैले खाएर हेरें । सल्लाह प्राप्त भए अनुसार मैले गरेर हेरें । यी थरि थरिका उपाय र तरिका पाएँ र अपनाएँ पनि । तर मलाई आज पर्यन्त यो खटिराको पीडाले छोडेको छैन ।  कसैले फुकेर निको हुने भने त्यस्तो जाजुल्यमान फुक्ने मान्छे लिएर पनि  आमा आउनु भयो । पीडाले गर्दा फुकेर निको हुदैन भनेर जाँन्दा जाँन्दै पनि फुक्न पनि लगाएँ मैले आमाको अपमान गर्न चाहिंन । उनले मलाई ३ दिन लगातार फुके पनि के को निको हुनु ? पटक्कै निको भने भएन।

काठमाडौँमा उपचार गर्ने क्रममा एक दिन मेरो ठुली दिदी मलाई भेट्न आउनु भयो । दिदीको पनि जनै खटिरा ७-८ वर्ष अघि टाउकोमा आएको रहेछ। १-२ महिनाको उपचार पछि घाउ त निको भयो तर चर्कने पोल्ने क्रम अहिले पनि जारी भएको कुरा बताउनु भयो । अनि म त झन  निराश भएँ ।

यो वीच मैले साथी भाइहरु संग इमेल फोन कुनै पनि सम्पर्क भएको गरेको थिइन। घाउ निको भए पछी मैले संचार गतिबिधि बढाएँ । एउटा इमेल अमेरिका को एकजना साथी सुसनको पनि आयो । उंनले इमेलमा ये साथि, के भयो ? किन कुनै संचार सम्बन्ध नभएको ? सोधेकि रहिछन । मैले आफ्नु दुखेसो जनै खटिरा आएर समस्या भएको कुरा बताएँ । कसै संग पनि सम्पर्क नगरेको बताएँ । अनि उनले मलाई फोन नै गरिन । के के भयो कति दिन भयो अनि किन यो जनै खटिरा बिरुद्ध खोप नलगाएको ? सोधिन । अनि खोप भने पछी म अचम्म मा परें । ये…. यसको पनि त खोप हुँदो रहेछ भन्ने बल्ल थाहा भयो । मैले पछी के एम सी को मलाई जाँच्ने डाक्टर लाइ सोधें:  डाक्टर साब यो रोगको खोप हुदो रहेछ नि ? खोप भएको थाहा नै थिएन । किन यस बारे आम मानिस लाइ जानकारी नदिएको हो ? उनले हासेर भने अब तपाईँ लाइ खोपको कुरा गरेर के फाइदा छ र ? अनि यो खोप पाउन पनि मुस्किल नै छ नेपालमा ।

एक दिन म इटहरीका मेरा अग्रज साथि कहाँ वसिरहेको थिएँ  । विहानको समय थियो । साथीले एक जना स्थानीय बैनी लाइ लिएर आउनु भयो । ति बहिनि ले एउटा हात ठाडो पारेर आएकी थिइन् । अनि साथिले उनको कथाको पोको फुकाउनु भयो । र ति बहिनि लाइ नै आफ्नो कथा भन्न प्रोत्साहन गर्नु भयो । उनले अप्ठेरो मान्दै भनिन खै के भनम र मेरो कथा ? मलाई यो के अपराधको सास्ती हो के मलाई केहि थाहा छैन। यति धेरै वर्ष भैसक्यो कैले दुख्न छाड्ने हैन के भनम र सर ? मैले के भएको थियो र भनेर सोधें । अनि उनले भनिन करिव १३ वर्ष अघि मलाई यो काखी मुनि जनै खटिरा  आएको थियो त्यो घाउ निको त भयो तर दुख्न भने आज सम्म पनि दुख्छ । त्यसैले मैले यो हात ठाडै राख्नु परेको छ । यो हात तल राख्यो कि दुखि हाल्छ के गर्नु ? अनि मलाई पनि मेरो पेट देखि पछाडी पातो मुनि सम्म आएको जनै खटिरा दुखाइ कम हुने वा निको हुने आशा मरेर गयो । मलाइ नै पनि फेरी फेरी आउने हो कि भन्ने डर भने जिउदैँ थियो र अझ पनि छ ।

अनि मलाई के लाग्यो भने यस्तो धेरै दुख दिने रोग बारे जनतामा व्यापक जानकारी दिएको भए त सक्ने मानिसले त खोप लगाउथे होलान, आफु सुरक्षित हुन्थे होलान, अनि दुख पिडा बाट वच्थे । तर मलाई लाग्छ अहिले पनि धेरै मानिसहरु लाइ यो रोगको खोप हुन्छ भन्ने थाहा छैन होला । बरु घाउ आएको ठाउमा बाघको चित्र लेखाउने र जडिबुटीको उपचार गराउदै होलान । अनि मैले जस्तै दुखेको पिडा वर्षौ सम्म खेपीरहेका होलान । त्यसैले मैले यो लेख लेख्ने जमर्को गरेको हुँ।

जनै  खटिरा आएर घाउ निको भएको केहि समय पछी अमेरिका आउदा मेरी छोरीले धेरै प्रकारका औषधि उपचारको खोजि गरेकी थिइन् । त्यस मध्येको एक थियो क्याप्सैसिन जेल। त्यो घाउ आएको ठाउँमा दल्ने औषधि । ल्याउना साथ् घसेर हेरियो । ओहो मेरो त औषधि दलेको ठाउ रातो भएर आयो । अत्यन्त धेरै पोल्यो । डाहा भएर सहन नसकेर धेरै वेर चिसो पानीमा पखालियो र  वल्ल पोल्न कम भयो । यसको सिकाइ के भने पहिले थोरै ठाउमा पाखुरा तिर लगाएर हेर्नु पर्ने हामी कसैले पनि याद गरेनौ।

सन् २०१८ मा अस्ट्रेलिया गए पछी छोराले पनि डाक्टर लाइ जचाउँ, के भन्छन भनेर समय मिलाएर गयौं । डाक्टरले एउटा प्रिगाबालिन भन्ने खाने औषधि दिएको थियो । त्यसको साइड इफेक्ट पनि बताएको थियो । खाए पछी त मलाई निक्कै रिंगटा लाग्यो । अनि खाइन र फेरी गइन त्यो चिकित्सककोमा । त्यतिकैमा नेपाल गइयो । नेपाल मा मैले नियमित जचाउने डाक्टर लाइ यो कुरा बताएँ । उनले पनि प्रिगाबालिन औषधि नै दिए । बेलुका मात्र खान भने । धेरै डोज को परेछ त्यसले रिंगटा धेरै लगायो । अनि डाक्टरकहाँ फेरि जचाँएर सोधेँ अनि उनले डोज घटाएर खानुहोस भने । पहिले १५० एम जी को थियो भने पछी ७५ एम जी को मात्र खान भने । मैले त्यसै गरे लगातार ३ महिना सेवन गरे पछी फेरी आउनु भनिएको थियो । फलोअपको लागि गई नै रहेँ।दुखेको मात्रा अलिक कम (करिब २५% घटेको महशुस ) भएको थियो सोहि कुरा बताएँ । उनले अरु तिन महिना खानु भने । मैले फेरी खाएँ लगातार ६ महिनासम्म  । शुरुमा चेक  गर्दा जस्तो थियो ६ महिना औषधि सेवन गर्दा पनि उस्तै रहेको बताएँ । अनि उनले फेरि भने अरु ६-७ मैना खाएर हेरौँ। अनि मलाई डर लाग्यो । त्यो दुखाइ जस्ताको तस्तै भए के गर्नु त्यति धेरै औषधि खाए पछी पनि?? आफैमा धेरै प्रश्न जन्मियो। अनि मैले नखाने निधो गरें र डाक्टर लाइ भने यस्तै मात्रै हो भने म औषधि खान्न । डाक्टरले लौ निर्णय त हजुरको भने । मैले औषधि छोडेँ। दु:खको कुरा अहिले पनि मेरो दु:खाइ उस्तै छ जनै खटिरा आएको करिब ९ वर्ष पुरा हुन लाग्यो । यसको पीडाले छोडेंन्।

हुनत यो रोग पनि फरक फरक हुने रहेछ । कुनै ले धेरै दुख दिने कुनै छिटो निको हुने । अनि सानो उमेरका मानिस लाइ यो छिटो निको हुने र दुखाइ पनि थोरै र छोटो अवधिको निमित्त मात्रै हुने रहेछ । भन्ने सुने । अनि खोप नै पनि डाक्टर अनुसार फरक कुरा र फरक सुझाब दिने रहेछन । अहिले अमेरिका अध्ययन गर्न जाने विद्यार्थी लाइ नै पनि जनै खटिरा को खोप लगाएको प्रमाण पत्र चाहिने रहेछ भन्ने सुनेको छु । अनि डाक्टर अनुसार कसैले ५५ वर्ष पछी खोप दिनु पर्छ भन्छन कसैले फेरी ६० वर्ष उमेर पछी जनै खटिरा को खोप अनिवार्य भन्ने गरेको सुनेको छु । मेरो आग्रह के भने तपाइँ पनि धक नमानी डाक्टर संग सल्लाह लिनुहोस् खोप लिने वेला भयो कि ? भयो भने ढिलो नगरी खोप लगाउनुहोस ।

अर्को कुरा मलाई के एम सी मा यो रोग लागि सकेपछी फेरी दोहोरिएर आउदैन, त्यसैले खोप लगाउनु पर्दैन भनेको थियो । तर फेरी फेरी आउने चान्स हुने कुरा अमेरिकाका डाक्टर ले मलाई भनेर मात्र थाहा पाएँ र खोप लगाइदिए । अनि फेरी डाक्टरले भने एक वर्ष पछी फेरी बुस्टर डोज दिनु पर्छ नविर्सनु होला भनेर जानकारी दिए ।

करिब डेढ वर्ष अघि एकजना शुभ चिन्तकले मेरो कथा सुनेर अमेरिका बाट एउटा औषधि मगाउनुस त्यो लगाउदा तपाईलाई सजिलो हुन्छ भने । हुनत यो केवल औषधि लगाउदा सम्म मात्रै  दुख्न कम हुने । तर पनि दुखाइ कम भए अन्य काममा पनि सहज। छोरी संग  कुरा गरें छोरीले १०-१५ दिन भित्रै पठाई दिईन्।लगाएँ पनि। लगाएको ठाउँमा केहि कम जस्तो हुने रहेछ तर ५-७ घण्टा पछी उस्तै । अनि अहिले मैले केहि लगाउँदिन तर पिडा भने फेरिपनि बढ्दै गएको अनुभूति भैरहेको छ ।

अमेरिकाको डाक्टरको पनि कुरा बाझियो: यस वर्ष अमेरिका आए पछी एउटा अस्पतालमा जचाएर आफ्नो कथा व्यथा सुनाएँ । एउटा अस्पतालमा डाक्टर लाइ जचाउने क्रममा फेरी मैले शुरुमा एउटा अस्पतालका डाक्टर लाइ जचाएर उपचार गरेको थिएँ । उनले त्यहाँ खोप लगाएको छ कि छैन भनेर सोधे । मैले खोप लगाउन को कुनै महत्व छैन भनेर काठमाडौँमा  भनेकोले लगाइन भनें । उनले हैन यो सिंगल ( जनै खटिरा ) फेरी आउन बाट बच्न पनि खोप लगाउनु पर्छ भने र उनीहरुकै क्लिनिकमा सिफारिस गरिदिए । खोप लगाएर आएँ । तर बुझ्दै जाँदा त्यो अस्पतालको भन्दा अर्को को सेवा राम्रो भन्ने बुझियो । अनि घरमा सल्लाह गर्यौ । अनि नयाँ ठाउँ मा जाने सल्लाह भयो अनि अर्को अस्पताल पुगियो फेरी जचाउन  । त्यहाँ जचाउदा फेरी कुरा फेरियो। अनि डाक्टरले भने पहिले कुन खोप लगाएको थियो त्यसको रेकर्ड ल्याउनु भने  । मैले रेकर्ड ल्याएर दिएँ । ति डाक्टरले खोप तुरुन्तै लगाउने नै सल्लाह दिइन । त्यसै अनुसार मैले खोप लगाएँ । लगाएको ठाउमा निकै दिन दुख्यो । ज्वरो आउला जस्तो भयो पनि (९९.२ डिग्री सम्म आयो) जिउ निकै दुख्यो । नदुख्ने औषधि आइबुप्रोफिन ४०० एम जी ५-६ दिन खानु पर्यो । खोप लगाएको ठाउँको दुखाइ पनि कम भयो ।

ज्यान नै लिई नहाल्ने ज्यान लिए पनि थोरै प्रतिशत भएको हुनाले होला धेरै अध्ययन अनुसन्धान यस क्षेत्रमा नभएको जस्तो लाग्यो । नत्र कस्ता कस्ता जटिल रोग निको हुन्छन तर यो जनै खटिराले दिएको पिडा निको नहुनु ? अहिलेको विश्वमा गहन अध्ययन अनुसन्धान गर्नु पर्ने विषय हुनु पर्ने हो । त्यस्तो हुँदा म जस्ता भुक्त भोगी लाइ बाच्न अलि सहज हुने थियो । म चाहन्छु यो रोग बारे यथेष्ट अध्ययन अनुसन्धान होस् । छाला रोग विशेषज्ञ ले यो रोग बारे पनि राम्रो सिप प्राप्त गरुन र रोगिलाई उचित सहयोग गर्न सकुन । वेलैमा सल्लाह दिन सकुन । सरकारी र गैरसरकारी निकायले यो रोग र खोप दुबैको वारे चेतना जगाउन सकुन।

जनै खटिराको खोप लगाउन नभुल्नु होस् :  खुसीको कुरा के भने कम्तिमा खोप प्राप्त हुने रहेछ । नेपालमा पनि पाइन् थाल्यो अहिले  त्यसकारण मेरो विनम्रता पुर्वक अनुरोध सबै ५० वर्ष नाघेका दाजु भाइ दीदी बहिनीहरु लाइ के हो भने सके सम्म र पाए सम्म जनै खटिरा को खोप लगाउनुहोस । यो पिडा दायक रोग बाट बच्नुहोस । अहिले मैले थाहा पाए सम्म नेपालमा पनि कम्तिमा टेकुमा यस रोगको खोप पाइन्छ । मौका नचुकाउनुहोस । खोप लगाउनुहोस । पछी पछुताउनु पर्ला ।

सिनामंगल काठमाडौँ। हाल: अमेरिका

लेखकबाट थप:-

 

प्रकाशित : २०७७ चैत २ गते २०:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI