रहेनन् नवलपुरका शैक्षिक धरोहर घिमिरे

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २८ गते १९:१३
रहेनन् नवलपुरका शैक्षिक धरोहर घिमिरे

कावासोती । नवलपुर क्षेत्रका शैक्षिक धरोहरका रुपमा पहिचान बनाएका शैक्षिक एवं सामाजिक व्यक्तित्व महाशर्मा घिमिरेको सोमबार साँझ निधन भएको छ । देवचुली-१० मा बसोबास गर्दै आएका घिमिरेको पारिवारिक भेटघाटको सिलसिलामा काठमाडौ रहदा सोमबार बेलुकी वीर अस्पतालमा कोभिड संक्रमणको कारणले निधन भएको हो । नवलपुर क्षेत्रको शैक्षिक धरोहरका रुपमा जिल्लामा उच्च पहिचान बनाएका घिमिरेको निधनले सिङ्गो नवलपुर र शैक्षिक क्षेत्र स्तब्ध भएको छ ।

को हुन महाशर्मा घिमिरे ?

बि.सं. १९९९ साल कार्तिक १०गतेका दिन बर्मा देशको दक्षिणी शान प्रदेशको कलौ भन्ने ठाउमा जन्मनु भएका महाशर्मा घिमिरे सोही स्थानको हिन्दी स्कुलमा शिक्षाको प्रारम्भ गरि सन् १९७५ मा म्याट्रिकुलेशन एक्जामिनेशन बोर्डद्वारा लिइएको परीक्षामा म्यट्रिक उत्तीर्ण हुनुभएको थियो ।

द्वितीय विश्वयुद्वको प्रभावका कारण अध्ययनमा आएको अवरुद्धताको सदुपयोग स्वरुप केही समय बर्मामै शिक्षण पेशामा रहनु भयो भने नेपाल आउनु पूर्व बर्मा सरकारको इमीग्रेसन अफिसमा सेवारत हुनुहुन्थ्यो सन् १९६२ मा बर्मामा सैनिक सरकारले सत्ता सम्हाले पश्चात् सरकारले विदेशी नागरिकहरुप्रति गर्ने गरेको व्यवहारबाट त्रसित हुदै गरेका बखत तत्कालीन नेपाली महावाणिज्यदूत श्री जी. वि. याक्थुम्बाले जगाईदिएको मातृभूमि प्रतिको समर्पण भावका प्रेरणाले २०२२ सालमा उहा श्रीमती , छोराहरु र छोरी सहित नेपाल आउनु भयो ।

त्यतिवेला नेपाल सरकारले इजरायली सरकारको योजना बमोजिम प्रगतिनगरमा जमीनको चक्लाबन्दी गरि बस्ती बसाउने काम भैरहेको थियो । सोही समयमा तत्कालीन युवराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव र इजरायलका महामहिम राजदूतकी पत्नी सालाजारको प्रगतिनगरमा भएको भ्रमणको दिन ( २०२२ चैत्र ५ गते ) स्वागतार्थ जुटेका अभिभावक तथा शिक्षा प्रेमीहरुबाट विद्यालय स्थापना गर्ने निर्णय गर्नुका साथै विद्यालय सञ्चालनको जिम्मेवारी ( प्रधानाध्यापकको रुपमा )महाशर्मा घिमिरेलाइ दिने समेत निर्णय भए पश्चात् २०२२ साल चैत्र ७ गते देखि भर्ना आरम्भ गरि विद्यालय सञ्चालनमा ल्याउनु भयो ।सोहि मिति अर्थात् २०२२ साल चैत्र ७ गतेदेखि अविच्छिन्न रुपमा प्रधानाध्यापको पदमा नियुक्त भई ३४ वर्ष ७ महिना २८ दिन श्री जन ज्योति नमुना मा.वि.(साविक श्री जन ज्योति प्राइमरी स्कुल )मा सेवा गरी २०५७ साल मंसिर ६ गते पेशाबाट निवृत हुनुभएको थियो ।

आफ्नो जीवनकालमा पेशागत हिसावले यस क्षेत्रकै शैक्षिक अभियानमा अग्रपङ्तीमा रहनु भएका शर्मा सामाजिक हिसावले प्रगतिनगरको सर्वाङ्गीण विकासमा अहम भुमिकामा देखिनुभयो भने प्रगति नगरमा डिप ट्युबेलको अभियान , जन ज्योति आदर्श बहुमुखी क्याम्पस स्थापनामा भुमिका , दुम्कौली अस्पतालको अध्यक्ष भै त्यसको विकासमा अहम भुमिका लगायत थुप्रै सामाजिक संघ संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष भुमिका रहेको थियो ।

पेशा प्रति मर्यादित हुनु , स्वत: स्फूर्त आफूमा भएको क्षमताको प्रयोग गर्नु , विकासमा सामुहिक भावनाको कदर गर्नुका साथै सम्पर्कको दायरा बढाउदै जानु र मनसा वाचा कर्मणा प्रवृत भएमा कठिन भन्दा कठिन कामलाइ सफल तुल्ल्याउन सकिन्छ भन्ने आदर्शलाई आत्मसाथ गर्दै निरन्तर अगाडी बढ्नु हुने आदर्श षुरुष एवं यस क्षेत्रकै शैक्षिक अभियान्ता महाशर्मा घिमिरे मिति २०७८ साल बैशाख २७ गते साझ ८ :३० बजे निधन भएको हो ।

(स्वर्गीय घिमिरेको जिवनी जनज्योति नमूना मा.विका पुर्व प्रधानाध्यापक धर्मदत्त भुसालको सहयोगमा तयार पारिएको हो ।)

 

 

 

प्रकाशित : २०७८ वैशाख २८ गते १९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI