मुलुकभरका ३० लाख श्रमिक बेरोजगार

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ३ गते ८:५३
मुलुकभरका ३० लाख श्रमिक बेरोजगार

कोरोनाको दोस्रो वेभ नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउनका कारण नेपालभर करिब ३० लाख श्रमिक बेरोजगार भएका छन् । उद्योग, कलकारखाना, यातायात, निर्माण, पर्यटनलगायतका क्षेत्र बन्द हुँदा श्रमिकहरू बेरोजगार हुन पुगेका हुन् ।

नेपाल ट्रेड  युनियन महासंघ (जिफन्ट) को तथ्यांकअनुसार नेपालको औपचारिक तथा अनौपचारिक क्षेत्रमा १ करोड ३५ लाख श्रमिक छन् । त्यसमध्ये ८० प्रतिशत अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा छन् । तीमध्ये ३० लाख बेरोजगार बनेको प्रारम्भिक तथ्यांक प्राप्त भएका जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

नेपालमा दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले वैशाख १६ गतेदेखि अति प्रभावित जिल्लाहरूमा लकडाउनको घोषणा गरेको थियो । अहिलेसम्म मुलुकका अधिकांश जिल्लामा लकडाउन घोषणा गरिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा तलब खाने वा उत्पादन बचाएर बेच्ने काम गर्ने ८० लाख श्रमशक्ति छ । तर, त्यसमा अनौपचारिक क्षेत्रको श्रमशक्ति समेटिएको छैन ।

दैनिक ज्यालादारी (भरिया) मा काम गर्ने ५० हजार बेरोजगार
दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक (भरिया) शतप्रतिशत नै बेरोजगार भएका छन् । सहरी क्षेत्रमा काम गर्ने यस्ता श्रमिकहरू लकडाउनका कारण बेरोजगार हुन पुगेको महासंघका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार यस्ता श्रमिक करिब ५० हजार छन् । शतप्रतिशत श्रमिक नै बेरोजार हुन पुगेको उनले बताए ।

निर्माण क्षेत्रका पनि करिब ५० हजार श्रमिक बेरोजगार भएको संघको अनुमान छ । संघका अनुसार नेपालको निर्माण क्षेत्रमा २५ लाख ५६ हजार ५ सय श्रमिक छन् । जसमध्ये भवन निर्माणमा १५ लाख ८६ हजार, इँटाभट्टामा ६ लाख, क्रसर उद्योगमा ७६ हजार, खोला–किनारमा गिट्टी कुट्ने २ लाख ७५ हजार र वन जंगलमा काम गर्ने २२ हजार ५ सय श्रमिक छन् ।

जसमध्ये ५० हजार श्रमिक बेरोजगार भएको अनुमान छ । ‘सबै जिल्लामा पूर्ण लकडाउन नभएका कारण यसपटक निर्माण क्षेत्रमा कामहरू भइरहेको छ,’ उनले भने । ठूला उद्योगहरूमा काम भइरहेको छ । स–साना उद्योग र घर निर्माणका कामहरू पनि भइरहेको उनले बताए । कतिपय श्रमिकहरू लुकेर भए पनि काम गरी रहेका छन् ।

त्यस्तै, घरमा आधारित श्रमिकहरूमध्ये ७५ प्रतिशत बेरोजगार भएका छन् । संघका अनुसार घरको काम, चुरा बुन्ने, माला बनाउने, गुडिया बनाउने, मूर्ति बनाउने, मूर्तिमा जलप लगाउनेजस्ता घरासयी काम गर्ने श्रमिकको संख्या नेपालमा १३ लाख छ । जसमध्ये २५ प्रतिशत भने अहिले पनि रोजगारीमा रहेको उनको अनुमान छ ।

अग्रपंक्तिमा रहने श्रमिकलाई कोरोना भ्याक्सिन दिन महासंघको माग
अग्रपंक्तिमा रहेर काम गरेका श्रमिकलाई जतिसक्दो छिटो कोरोना भ्याक्सिन दिनुपर्ने महासंघले माग गरेको छ । सरकारले फास्ट ट्र्याकमा यस्ता श्रमिकलाई भ्याक्सिन दिनुपर्ने महासंघका अध्यक्ष श्रेष्ठले बताए । ‘सबै अस्पतालमा भिड हुन्छ । श्रमिक काम गरिरहेकै अवस्थामा आएर भ्याक्सिन लगाउन सक्दैनन् । त्यसैले छुट्टै व्यवस्था गरी भ्याक्सिन दिनुपर्छ,’ उनले भने ।

त्यस्तै, स्थानीय निकायले सबै श्रमिकको तथ्यांक राखी सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने समेत उनले सुझाब दिए । साथै, लकडाउन अवधिको सामाजिक सुरक्षा कोषमा भुक्तानी गर्नुपर्ने योगदान रकमसमेत सरकारले भुक्तानी गरिदिन उनीहरूले माग गरेका छन् ।

अघिल्लो लकडाउनमा औपचारिक क्षेत्रका कार्यरत श्रमिकमध्ये १५ प्रतिशतको रोजगारी गुमेको महासंघले बताएको छ । त्यस्तै, लकडाउन अवधिमा अनौपचारिक क्षेत्रका सबै श्रमिक बेरोजगार भएका थिए । बेरोजगार श्रमिकलाई सरकारले राहतस्वरूप खाद्यान्न सामग्री वितरण गरेको थियो । यो वर्ष अहिलेसम्म राहतको वितरण गरेको छैन ।

 पर्यटन र यातायात क्षेत्रका  श्रमिक सबैभन्दा प्रभावित
लकडाउनका कारण नेपालको पर्यटन र यातायात क्षेत्रमा कार्यरत श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । महासंघका अध्यक्ष श्रेष्ठका अनुसार नेपालको पर्यटन क्षेत्रमा करिब ९ लाख श्रमिक कार्यरत छन् । जसमध्ये करिब ६ लाख होटेल क्षेत्रमा र पर्यटनका अन्य क्षेत्रमा करिब ३ लाख श्रमिक कार्यरत छन् । यीमध्ये केही श्रमिक रोजगारीमा भए पनि अधिकांश श्रमिकहरू बेरोजगार भएका छन् ।

त्यस्तै, नेपालको यातायात क्षेत्रमा करिब ११ लाख श्रमिक कार्यरत रहेको अध्यक्ष श्रेष्ठले बताए । जसमध्ये ९ लाख श्रमिक बेरोजगार भएको उनको दाबी छ । ‘एम्बुलेन्स, ट्यांकर, पानी, खाद्यान्न, दुग्धलगायतका अत्यावश्यकमा सामग्री ओसारपसार गर्ने यातायातलाई बन्दमा पनि चल्न पाउने भएकाले करिब २ लाख श्रमिकले रोजगारी पाएको हुन सक्छ,’ उनले भने ।

बाँकी ९ लाख श्रमिक बेरोजगार भएको महासंघको अनुमान रहेको उनले बताए । साथै, सडकमा पसल थाप्ने श्रमिकहरू पनि पूर्ण रूपमा प्रभावित भएका छन् । महासंघका अनुसार नेपालमा यस्ता श्रमिकको संख्या ३ लाख छ । त्यस्तै, सौन्दर्य क्षेत्रमा कार्यरत श्रमिक पनि पूर्ण रूपमा बेरोजगार भएको महासंघका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार नेपालमा यस क्षेत्रमा काम गर्ने श्रमिकको संख्या पनि करिब ३ लाख छ ।-यो खबर आजको नयाँ पत्रीका दैनिकमा छ ।

प्रकाशित : २०७८ जेठ ३ गते ८:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI