बादल पराजित भएपछि एमाले विवाद उत्कर्षमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ७ गते ८:४४
बादल पराजित भएपछि एमाले विवाद उत्कर्षमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए । थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ ।

एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको थियो । तर बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रहविपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल समूह दोषी भएको बताएका छन् । यसबाट आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । कार्यदलको अर्को बैठक शुक्रबार बस्ने भनिएको छ। कार्यदलले बुधबार र बिहीबार पनि बैठक बस्ने भने पनि त्यस्तो हुन सकेन ।

नेपाल पक्षले २०७५ जेठ २ को विन्दुबाट पार्टी संगठन अघि बढाउने सहमति भएको र त्यतिबेलाको कार्यसमितिले नचिनेका थापालाई उम्मेदवार बनाउने विषय नै गलत भएको बताएको छ । ‘हामीले सुरुदेखि नै पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउने र त्यही सेरोफेरोमा रहेर विवाद समाधान गर्ने भनेका छौं । त्यसकारण एमालेको कार्य समितिले रामबहादुर थापालाई चिन्दैन’, नेपाल निकट एक नेताले भने । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७८ जेठ ७ गते ८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI