गैँडाकोटको बजेट ८० करोड ५९ लाख ५३ हजार

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १० गते १७:४३
गैँडाकोटको बजेट ८० करोड ५९ लाख ५३ हजार

गैँडाकोट । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुकुमारी कंडेलले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुभएको छ ।

योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेलले ८० करोड ५९ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा २६ करोड ४६ लाख बराबरको पुँजीगत खर्च रहेको छ भने ५४ करोड १३ लाख ५० हजार चालु खर्च रहेको छ ।

नगरपालिका स्तरीय बजेटबाट पूर्वाधार विकास समिति अन्तर्गत ६ करोड ९१ लाख,  कृषि, पशु तथा सहकारीका लागि ७५ लाख, स्वास्थ्यमा १ करोड ९५ लाख, शिक्षामा २ करोड, खेलकुद प्रवर्धनका लागि २० लाख, आयुर्वेदका १० लाख विनियोजन भएको छ ।

लक्षित वर्ग अन्तर्गत युवा लक्षित कार्यक्रमका लागि ५ लाख, महिला लक्षित विकास कार्यक्रमका लागि १० लाख ७० हजार, बालबालिका लक्षित कार्यक्रमका लागि १० लाख, अपांगता लक्षित कार्यक्रमका लागि ६ लाख ३० हजार, जेष्ठ नागरिक लक्षित कार्यक्रमकालागि ५ लाख, दलित लक्षित कार्यक्रमकालागि ७ लाख, आदिवासी जनजाति लक्षित कार्यक्रमका लागि ६ लाख बजेट विनियोजन गरिएको छ ।

वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत १ करोड, संस्थागत विकास तथा सेवा प्रवाहका लागि ३५ लाख बजेट विनियोजन गरिएको छ ।

वडा स्तरीय बजेट अन्तर्गत गैँडाकोट ३, १४ र १८ ले ८० लाख र अन्य वडाले प्रति वडा ७० लाखका दरले बजेट विनियोजन गरेका छन् । यसका लागि १२ करोड ९० लाख रकम विनियोजन भएको छ ।

गैँडाकोट नगरपालिकाको विहिबारको नवौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम, उपप्रमुख विष्णुकुमारी कंडेलद्वारा प्रस्तुत बजेट, आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।

आर्थिक विधेयक प्रस्तुत गर्दै उपप्रमुख विष्णुकुमारी कंडेलले करचुक्ता सिफारिस, कृषिवाली क्षति तथा पशु मृत्यु÷बाँझोपन सिफारिस सहितको मुचुल्का, विधवा महिलालाई अर्कौ विवाह नभएको प्रमाणपत्र लगायत यस संग सम्बन्धि सिफारिस, सामाजिक सुरक्षा सिफारिस, स्वास्थ्य उपचार सिफारिस लगायतका सिफारिसहरु निशुल्क गर्ने प्रावधान मिलाएको बताउनुभयो ।

 

 

प्रकाशित : २०७८ असार १० गते १७:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI