बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई पढाइको चिन्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १२ गते १३:२०
बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई पढाइको चिन्ता

मनाङ : अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन् । जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ ।

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन मस्र्याङ्दी नदीको कटानले जोखिममा पुगेको छ । मस्र्याङ्दी नदीमाथिको पक्की पुलले नदीको धार परिवर्तन हुँदा विद्यालयको भवनतर्फ कटान गरी भवन जोखिममा छ । यी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कहिलेदेखि अध्ययन शुरु हुने हो भन्ने चिन्ता थपिएको छ ।

थोंचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत मनोज गुरुङ भन्‍छन्, ‘हाम्रो त न गाउँ रहेको छ न त विद्यालय, अब पढ्न पनि आफ्नै जिल्लामा बसेर पढ्न नपाइने भयो ।’ बाढीले उहाँले अध्ययन गर्ने विद्यालयको निशान मात्रै रहेको छ ।

कक्षा ९ मा अध्ययनरत प्रिया गुरुङ अब जिल्लामा घर नजिकै बसेर पढ्न पाउने अधिकार नै बाढीले छिनेको बताउँछिन् । मनाङका विद्यार्थीले घरबार गुमाउनुका साथै विद्यालय पनि बगाएपछि शिक्षाबाट वञ्चित भएको प्रियाको भनाइ छ ।

नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय मस्र्याङ्दीको बाढीको डुबानमा छ । गाउँ नै डुबानमा रहेकाले विद्यालय जोगिन सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । जिल्लामा भएको चार माध्यमिक विद्यालयमध्ये एउटामा मात्रै बाढी पहिराले क्षति नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायण योगीले जानकारी दिए ।

विद्यालयको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्न सक्ने योगीले बताए । संरचना र विद्यालयको भवन नभएपछि अध्ययनका लागि नै अन्यत्र पठाउनुपर्ने समस्या मनाङवासीलाई थपिएको छ । मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा रहेको छ । रासस

प्रकाशित : २०७८ असार १२ गते १३:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI