लागू औषधको ट्रान्जिट बन्दै नवलपुर, एक वर्षमा १४४ पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १२ गते ११:०२
लागू औषधको ट्रान्जिट बन्दै नवलपुर, एक वर्षमा १४४ पक्राउ

सन्जय भट्टराई/कावासोती । नवलपुर जिल्ला लागु औषधको मुख्य ट्रान्जिट बन्दै गएको एक तथ्यांकले देखाएको छ । लागू औषध ओसारपसार तथा सेवनमा संलग्न रहेको आरोपमा नवलपुर प्रहरीले गएको एक बर्षमा १४४ तीन जनालाई पक्राउ गरेपछि जिल्ला हुदै लागू औषधको ओसारपसार ठुलो मात्रमा हुने गरेको पाइएको हो ।

नवलपुर प्रहरीबाट प्राप्त तथ्यांकमा लागू औषध ओसारपसारमा संलग्न रहेको आरोपमा सबैभन्दा गत आर्थिक वर्ष ०७७/०७८ मा एक सय ४४ जना मानिसलाई पक्राउ गरेको उल्लेख छ । अघिल्लो आ.व ०७६/०७७ नवलपुर प्रहरीले ६७ वटा लागु औषध सम्बन्धि मुद्धा दर्ता गरेकोमा गत आ.व ०७७/०७८ मा ८० वटा मुद्धा दर्ता गरेको तथ्याङकमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयले उपल्बध तथ्याङक अनुसार गत आ.व ०७७/०७८ मा प्रहरीले १५ हजार थान भन्दा धेरै प्रतिबन्धित लागुऔषध र करीब १० किलो गाँजा बरामद गरेको छ । पक्राउ परेकाहरुबाट ४९ हजार नेपाली रुपिया पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विषेश गरेर नवलपुरको दुम्किबास, चालिस किलो, कावासोतीमा गरिने प्रहरी चेकिङमा लागूऔषध सहित ओसारपोसार गर्नेहरु समातिने गरेको हो । सिमावर्ती भारतिय बजारमा लागुऔषध खरीद गरि खुल्ला सिमानाको फाईदा उठाउदै रुपन्देही र पश्चिम नवलपरासी हुदैँ लागुऔषध ओसारपसार गर्नेहरु नवलपुर प्रवेश गर्ने गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । पक्राउ पर्नेहरु अधिकांश नवलपुर बहिरका रहेका र जिल्लाको बाटो हुदै अन्य जिल्लामा लागु औषधको कारोबार गर्नेहरु धेरै रहेको मल्लले बताए ।

देशका सबै भूगोलमा सहज रुपमा आवागमन गर्न सकिने भएकोले नवलपुर हुँदै लागूऔषधको कारोबार हुने गरेको प्रहरी उपरीक्षक मल्लको भनाई थियो । पक्राउ परेको संख्या बढदा लागुऔषधको कारोबार बढेको स्वीकार गर्दै उपरीक्षक मल्लले अघिल्ला वर्षको तुलनामा प्रहरीको सक्रीयता भने बढेको बताउछन ।

“लागु औषध नियन्त्रण गर्न जिल्ला भित्र नवलपुर प्रहरीले अभियान चलाईरहेको छ, तर ओसारपसार नियन्त्रण गर्न अन्तर प्रदेश बीच समन्वय हुन जरुरी छ ।” मल्लले भने । “नवलपुर लुम्बिनी र वाग्मती प्रदेशको बीचमा छ, ओसारपसार नियन्त्रणका लागी हाम्रो प्रयासले मात्रै हुदैन, प्रदेश प्रदेश बीच समन्वय हुन पर्छ, यसका लागी मैले गण्डकी प्रदेश प्रहरी मुख्यालयमा पनि कुरा अगाडी बढाएको छु,” मल्लले भने । जिल्लालाई लागु औषधको सम्स्याबाट मुक्त गर्न नवलपुर प्रहरीले कुनै कसर बाकी नराख्ने मल्लको भनाई थियो ।

प्रकाशित : २०७८ साउन १२ गते ११:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI