दशैँ टीकाको दोस्रो दिन आज पनि टीका थापेर आशीर्वाद लिइँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३० गते ८:३२
दशैँ टीकाको दोस्रो दिन आज पनि टीका थापेर आशीर्वाद लिइँदै

नवलपुर । विजयाशमी अर्थात् दशैँको मूल टीका शुक्रबार सम्पन्न भइसक्यो । तर दोस्रो दिन आज (शनिबार) पनि मान्यजनबाट दशैँको टीका तथा जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ ।

कतिपय समुदायमा दशैँको टीका र जमरा चार–पाँच दिनसम्मै लगाउने गरिन्छ । मूल दिन अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज आफन्तजनसँग भेटघाट गर्दै टीका थापेर आर्शीवाद लिने गर्छन् । यसपालि कोरोना भाइरसको जोखिम पनि कायमै रहेकाले विगतका वर्षहरुको जस्तो चहलपहल खासै छैन । तर पनि अघिल्लो सालभन्दा धुमधामले नै दशैँ मनाइरहेका छन् ।

दशैँको मूल दिनमा भेट्न नभ्याएकाहरु आजदेखि आफन्तसँग टीका थाप्न जाने गर्छन् । दशैँको अर्को पाटो भनेको लामो समयपछिको आफन्तजन, नातागोता भेट हुने, सद्भाव साट्ने पनि हो । यसैको निरन्तरतास्वरुप दशैँ टीक अझै केही दिनसम्म जारी रहन्छ ।

मूलतः घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरेर उमारिएको जमरा तथा प्रसाद पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका तथा जमरा ग्रहण गर्दा सुख, शान्ति, समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ । दशैँलाई असतमाथि सतको विजयको प्रतीकका रुपमा समेत मनाउने गरिन्छ ।

प्रकाशित : २०७८ असोज ३० गते ८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI