भरतपुर महानगर सम्बन्धमा प्रचण्ड भन्छन्– चितवन कांग्रेसले भनेर केही हुँदैन

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १० गते ९:३८
भरतपुर महानगर सम्बन्धमा प्रचण्ड भन्छन्– चितवन कांग्रेसले भनेर केही हुँदैन

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् ।

प्रचण्डले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरू बीचमा गठबन्धन हुने बताए । उनले भने, “गठबन्धन त भइरहेकै छ नि ! गठबन्धन टुट्दैन । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र संघीय निर्वाचनसम्म पनि रहन्छ ।”

नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरूले भरतपुर महानगरपालिकामा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा प्रचण्डले भने, “चितवन कांग्रेसले भनेर केही हुँदैन । कांग्रेसले एक्लै लड्छौँ भनेको छैन । केही मान्छेले मात्रै भनेका हुन् ।”

भरतपुर महानगरपालिकामा उनकी छोरी रेनु दाहाल प्रमुख छिन् । यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् ।

माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहो¥याउने जनाउँदै आएको छ । जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उमेदवार हुनुपर्ने जनाउँदै आएको छ ।

प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज चितवन आएका हुन् । उनले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्नेलगायत कार्यक्रम रहेका छन् । उनले भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन समेत गर्दै छन् । रासस

प्रकाशित : २०७८ चैत १० गते ९:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI