नवलपुरका सबै पालिकाको प्रमुखमा कांग्रेसको दाबी : माओवादीले देवचुली पाए अरु छाडने

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ४ गते १९:२३
नवलपुरका सबै पालिकाको प्रमुखमा कांग्रेसको दाबी : माओवादीले देवचुली पाए अरु छाडने

नवलपुर । वैशाख ३० गते हुने भनिएको स्थानिय तहको निर्वाचनमा नवलपुरका ८ वटा पालिकाको प्रमुखमा कांग्रेसको नेतृत्वमा उम्मेदवारी दर्ता हुने देखिएको छ ।नवलपुरका आठ वटा स्थानिय तहमा आठ वटै पालिकाको नेतृत्व कांग्रेसले गर्ने गरि गठबन्धन हुन लागेको हो ।

 

जिल्ला स्तरीय गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एसलाई केही पालिकाहरुमा उप प्रमुख या उपाध्यक्ष दिने गरि छलफल अगाडी बढाईएको गठबंधनमा सहभागी एक जना कांग्रेस नेताले बताए । “गठबन्धन हुँदै गर्दा केही पालिकाको उपप्रमुख नेकपा माओवादी केन्द्र र नेकपा एसलाई दिने गरि सहमतिको प्रयास भएको छ,” नाम नबताउने सर्तमा ती नेताले भने ।

 

त्यसै गरि वडाको हकमा गठबन्धनका दलले जितेका वाड सोही दललाई छोडने र बाकी वाडमा मतको आधारमा भागबन्डा गर्ने गरि सहमतिको तयारी गरिएको छ ।

 

यो सहमतिमा गठबन्धनका दलहरु अनौपचारिक रुपमा सहमतिको नजिक पुगेको भनिए पनि शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नवलपुर आए पछि माओवादी केन्द्रले देवचुलीको प्रमुखमा दाबी गरेको स्रोतले बतायो । स्रोतका अनुसार माओवादी केन्द्रले देवचुलीको प्रमुख पाए अन्य पालिकाको प्रमुख उपप्रमुख दाबी नगर्ने सर्त अगाडी सारेको हो ।

 

पालिकाहरुले प्रतिवेदन नपठाएका कारणले आईतबार बस्ने भनिएको गठबन्धनको जिल्ला स्तरीय बैठक बस्न नसकेकाले सोमबार बैठक बसि भागबण्डाको अन्तिम निर्णय गरिने बैठकमा गरिने बताईएको छ  ।

प्रकाशित : २०७९ वैशाख ४ गते १९:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI