छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा शिक्षक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ५ गते ८:५२
छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा शिक्षक पक्राउ

नारायण शर्मा/पूर्वी नवलपरासी 

छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनक  माविका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । अभिभावकको उजुरीपछि प्रहरीले आइतबार ती शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार घटनाका बारेमा छात्राले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा आइतबार लिखित जाहेरी दिएकी हुन् ।

५ दिनअघि विद्यालयका एक शिक्षकले छात्रालाई अश्लील भिडियो देखाएर हिंसा गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । उनीहरूले आइतबार विद्यालय  परिसरमा रहेका २ वटा मोटरसाइकलमा समेत आगजनी गरेका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले २ दर्जन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

प्रधानाध्यापक चुडामणि कँडेलले घटना छानबिन गरी दोषी प्रमाणित भए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अनुसन्धानमा सघाउन तयार छौँ र दोषी भेटिए कारबाही गर्न प्रशासनलाई भनेका छौं,’ कँडेलले भने ।

विद्यार्थी आन्दोलनका कारण जनक  माविको पढाइ ठप्प छ । ‘आजबाट क्लास सुरु गर्ने तयारी गरेका छौँ,’ कँडेलले भने, ‘एसईईलाई मध्यनजर गर्दै पढाइ सुरु गर्ने तयारीमा छौँ ।’

प्रकाशित : २०७९ वैशाख ५ गते ८:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI