जनक माविमा बुधबारदेखि पठनपाठन हुने

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ६ गते ११:३७
जनक माविमा बुधबारदेखि पठनपाठन हुने

नारायण शर्मा/नवलपुर — छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलका कारण पठनपाठन बन्द भएको गैंडाकोटस्थित जनक उच्च माविमा बुधबारबाट पढाइ हुने भएको छ । विद्यार्थी आन्दोलन कारण त्यहाँ एक साताअघिदेखि पठन पाठन बन्द छ ।

‘बुधबार पठनपाठन सुरु गर्ने तयारीमा छौं,’ प्रधानाध्यापक चुडामणि कँडेलले भने, ‘आउँदो शुक्रबारबाट एसईई परीक्षा समेत भएकाले सबै तयारी भइरहेको छ ।’ विद्यालय खुल्ने वातावरण बनाउन मंगलबार दिउँसो अभिभावकसँग छलफल राखिएको छ । बुधबारबाट कक्षा सञ्चालन गर्ने तयारी भरहेको कँडेलले जानकारी दिए ।

आरोप लागेका शिक्षकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । ती छात्राका अभिभावकले  जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी दिएका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । विद्यालयमा मंगलबार पनि सुरक्षाकर्मी खटाइएको छ ।

विद्यालयमा १८ सय ९५ विद्यार्थी अध्ययनरत छन् । शुक्रबार सुरु हुने एसईई परीक्षाको केन्द्र समेत त्यहीँ छ । त्यहाँ ४ सय विद्यार्थीको एसईई केन्द्र तोकिएको छ ।

प्रकाशित : २०७९ वैशाख ६ गते ११:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI