पुर्वी नवलपरासीमा घाँटी रेटेर गाईको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २ गते ११:२७
पुर्वी नवलपरासीमा घाँटी रेटेर गाईको हत्या

कावासोती :  पुर्वी नवलपरासीको गैंडाकोटमा घाँटी रेटेर गाईको हत्या गरिएको छ । जिल्लाको गैंडाकोट नगरपालिकाको वडा नं १४ भेलन्टाडीको भित्री सडकमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा मृत गाई फेला परेको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार १०ः४५ बजेको समयमा गैंडाकोट–१४ का वडा अध्यक्ष कोकिसरा राना मगरले प्रहरीलाई खबर गरे पछि घटना स्थलमा प्रहरी पुगेको र आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

घाँटी रेटिएर मृत अवस्थामा फेला परेको गाईलाई प्रहरी मुचुल्का पछि सोही स्थानमा गाडिएको छ भने अनुसन्धानका लागि प्रहरीले गाई धनी सहित ३ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले गाई धनी गैंडाकोट–१४ का लक्ष्मण पाण्डे, रामबहादुर बराम र चित्रबहादुर बिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको मा प्रारम्भिक अनुसन्धान पछि गाई धनि लक्ष्मण पाण्डे र चित्रबहादुर बिकलाई छाडेको छ ।

गाई धनि पाण्डेले गाई पाल्न नसके पछि चित्रबहादुर बिकले खोजी ल्याएका रामबहादुर बरामलाई आठ सय नगद समेत दिई गाई पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गाई लैजाने क्रममा हिडन नमाने पछि घाँटी रेटेर बरामले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको निरीक्षक श्रेष्ठले बताउनु भयो । गाई हत्या आरोपी बरामलाई बुधबार जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

गाई मारेको अभियोग पुष्टि भए मुलुकी अपराध संहिता २०७४ ले तीन वर्ष सम्म सजाय हुने व्यवस्था गरेको छ ।

प्रकाशित : २०७९ कार्तिक २ गते ११:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI