समानुपातिक मतपत्र नवलपुर आईपुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक ४ गते १८:३५
समानुपातिक मतपत्र नवलपुर आईपुग्यो

नवलपुर ।मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नवलपुरलाई आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र शुक्रबार यहाँ आइपुगेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई लाख ८९ हजार थान मत रुजु गरेर भण्डारण गरिएको मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइटेलले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगबाट प्राप्त मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ का मा एक लाख ३१ हजार १ सय ८१ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फका लागि एक लाख ४५ हजार थान मतपत्र प्राप्त भएको छ ।

यस्तै प्रदेशसभा (क) मा ७१ हजार थान र प्रदेशसभा (ख) मा ४६ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र रुजु गरेर ठिक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख २९ हजार २८० मतदाताका लागि प्रतिनिधिसभातर्फ एक लाख ७३ हजार थान मतपत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) र प्रदेशसभा (ख) मा समान ७३ हजार / ७३ हजार थान मतपत्र प्राप्त भएको छ । ती मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६८ र समानुपातिकतर्फ पाँच जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । आम निर्वाचनका लागि जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा कुल २ लाख ६० हजार ४ सय ६१ मतदाता रहेका नवलपुरमा १ सय १३ मतदानस्थल र ३ सय २ मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित : २०७९ कार्तिक ४ गते १८:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI