ट्वान्टी–२० विश्वकप : भारतलाई इङ्ल्यान्डको चुनौती

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २४ गते १२:२०
ट्वान्टी–२० विश्वकप : भारतलाई इङ्ल्यान्डको चुनौती

नवलपुर । आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनल प्रवेशका लागि आज दोस्रो सेमिफाइलनमा भारत ‘चोटले सताएको’ इङ्ल्यान्डविरुद्ध खेल्दैछ ।

भारतसँग खेल्नुअघि इङ्ल्यान्डका मध्यक्रम ब्याट्सम्यान डेविड मलान र बलर मार्क उड चोटका कारण टिममा पर्न संघर्षरत छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएअनुसार भारतविरुद्ध डेविड मलान खेल्नेबारे शंका रहेपनि मार्क उडको स्थानमा भने क्रिस जोर्डन खेल्ने निश्चित भएको दाबी गरेका छन् ।

यता, इङ्ल्यान्डविरुद्धको खेलका लागि भारत भने विकेटकिपरमा युवा ब्याट्सम्यान ऋषभ पन्त राख्ने वा अनुभवी दीनेश कार्तिकलाई उत्रार्ने भन्ने निर्णयमा अझै पुगिसकेको छैन । यो विश्वकपमा भारतबाट ऋषभ पन्तले हालसम्म एक खेलमा मात्र मौका पाएका छन् ।

अस्ट्रेलियाको एड्लेइड ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ ।

यी दुई टिमबीच हालसम्म २२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । यसमध्ये इङ्ल्यान्डले १२ खेल जित्दा १० खेलको नतिजा भारतको पक्षमा छ । ट्वान्टी–२० विश्वकपमा भने यी दुई टिम हालसम्म तीन पटक आमनेसामने भएका छन् । जसमा भारतले दुई खेल जित्दा इङ्ल्यान्डले एक खेल आफ्नो पक्षमा पारेको छ ।

ट्वान्टी–२० विश्वकपको इतिहासमा हालसम्म भारत र इङ्ल्यान्ड दुवैले समान दुई पटक फाइनल खेल्दा एक–एक पटक उपाधि जितेका छन् ।

सुपर–१२ बाट भारत समूह–२ को विजेता र इङ्ल्यान्ड समूह–१ को उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

आजको खेलको विजेताले १३ नोभेम्बरमा पाकिस्तानसँग उपाधिका लागि खेल्नेछ । पाकिस्तानले बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डमाथि सात विकेटको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

भारतको सम्भावित टिम :

रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सुर्यकुमार यादव, हार्दीक पन्ड्या, दीनेश कार्तिक/ऋषभ पन्त (विकेटकिपर), अक्सर पटेल, रविचन्द्रन आश्विन, भुवनेश्वर कुमार, मोहम्मद सामी र अर्शदीप सिंह

इङ्ल्यान्डको सम्भावित टिम :

जस बटलर (कप्तान विकेटकिपर), एलेक्स हल्स, डेविड मलान/फिल साल्ट, बेन स्टोक्स, ह्यारी ब्रुक, लियम लिभिङस्टन, मोइन अली, साम करन, क्रिस वोक्स, क्रिस जोर्डन र आदिल राशिद ।

 

प्रकाशित : २०७९ कार्तिक २४ गते १२:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI