त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नामिबियाविरुद्ध खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २ गते ७:४२
त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नामिबियाविरुद्ध खेल्दै नेपाल

कावासोती  । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा हुन लागेको त्रिदेशीय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा आज नेपालले नामिबियाविरुद्ध खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी छन् । एकदिवसीय मान्यता जोगाउन लिग–२ मा नेपालले अब बाँकी १२ खेलमध्ये ९ खेल जित्नै पर्ने दबाब रहेका कारण पनि घरेलु मैदानमा हुन लागेको यो शृङ्खला निकै महत्वपूर्ण छ ।

नेपाली टिममा पुर्व कप्तान सन्दीप लामिछानेले ’कमब्याक’ गरेपनि कप्तानी जिम्मेवारी भने रोहितकुमार पौडेलले नै पाएका छन् । यस्तै, नेपाली टिम मोन्टी देसाइको प्रशिक्षणमा छ ।

सात टिम सम्मिलित लिग–२ मा नेपालले २४ खेलबाट १८ अंक जोडेको छ । छैटौँ स्थानमा रहेको नेपालले २४ मध्ये आठ खेलमा मात्र जित निकाल्न सफल भएको छ । ३० खेलबाट ३७ अंक जोड्दै नामिबिया तेस्रो स्थानमा छ ।

यस्तै, तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलबाट ४६ अंक जोडेको छ ।

प्रकाशित : २०७९ फागुन २ गते ७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI