रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २१ गते ९:४५
रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

चितवन । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

रास्वा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर गैरकानूनी रुपमा रङ् परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।

विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको बताए । अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।

भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो । मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको थियो ।

रास्वपाले रङ परिवर्तन गर्नुअघि एम्बुलेन्स सेतो रंगको थियो । रास्वपाको झण्डाका रंगसँग मिल्दोजुल्दो हुने गरी एम्बुलेन्समा निलो रंग लगाएर ‘मोबाइल क्लिनिक’ नाम दिइएको थियो । उक्त एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न भन्दै वर्कसपमा पठाइएको स्रोतले बताएको छ ।-अनलाईनखबरबाट

प्रकाशित : २०८० साउन २१ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI