एक वर्षमा वैदेशिक रोजगारीका क्रममा १२ सय बढीले ज्यान गुमाए

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ३० गते १०:४६
एक वर्षमा वैदेशिक रोजगारीका क्रममा १२ सय बढीले ज्यान गुमाए

कावासोती । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका क्रममा एक हजार २०८ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।  वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका हुन् ।

“गत आर्थिक वर्ष मृत्यु हुनेमा एक हजार १६३ जना पुरुष र ४५ जना महिला रहेका छन्,” सूचना अधिकारी पौडेलले भने ।  मृत्यु भएका व्यक्तिको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको उनले जनाए ।

यस्तै, गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न प्रकारका दुर्घटनामा परी अंगभंग भएका तथा गम्भीर विरामी भएका ३८९ जनालाई पनि बोर्डले आर्थिक सहायता उपलब्ध गरेको छ ।  सूचना अधिकारी पौडेलका अनुसार अंगभंग तथा गम्भीर बिरामी भएकालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।

सोही अवधिमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको नेपालमा रहेका परिवारका ११२ जना सदस्यलाई स्वास्थ्य उपचार खर्च स्वरुप  ५६ लाख रुपैयाँ प्रदान गरिएको छ ।  छात्रवृत्ति सहायतास्वरुप गत वर्ष बोर्डले वैदेशिक रोजगारीका गएकाहरुको दुई हजार ९५७ जना छोराछोरीलाई दुई करोड ८२ लाख दुई हजार रुपैयाँ उपलब्ध गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएकामध्ये ३४ जना महिला र ७८४ जना पुरुष गरी कुल ८१८ जनाको शव व्यवस्थापन (ढुवानी) गर्न दुई करोड ८५ लाख ८० हजार रुपैयाँ बोर्डले खर्च गरेको छ ।

विभिन्न कारणले विदेश अलपत्र परेका नेपाली कामदारको खोजतलास तथा उद्धारमा पछिल्लो एक वर्षमा ४३ लाख १० हजार ८०० रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।  यस्तै, विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल झिकाउनको लागि सम्बन्धित नियोगसँग समन्वय गर्दा दुई करोड ६० लाख ७५ हजार रुपैयाँ खर्च भएको बोर्डले उपलब्ध गरेको विवरणमा उल्लेख छ ।

गत वर्ष नै बोर्डले वैदैशिक रोजगारीमा जानेहरुलाई अभिमुखिकरण तालिमबापतको रकम शोधभर्ना गर्दा तीन लाख ५४ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।  “गत आर्थिक वर्ष समग्रमा कल्याणकारी कार्य अन्तर्गत ६ हजार ४६९ जनालाई आर्थिक सहायता स्वरुप कुल ८४ करोड ८० लाख १० हजार ७०० रुपैयाँ प्रदान गरिएको छ,” सूचना अधिकारी पौडेलले बताए ।

गत आर्थिक वर्ष २०७९–८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ९९ हजार १९३ जना पुरुष र ७२ हजार १३४ जना महिला रहेका थिए ।

प्रकाशित : २०८० साउन ३० गते १०:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI