धादिङ बस दुर्घटना : मृतक आठै जनाको सनाखत, घाइते १५ मध्ये पाँचको अवस्था गम्भिर

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ७ गते ९:३०
धादिङ बस दुर्घटना : मृतक आठै जनाको सनाखत, घाइते १५ मध्ये पाँचको अवस्था गम्भिर

धादिङ । धादिङको गजुरीमा हिजो (बुधबार) भएको बस दुर्घटनामा ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदनबहादुर कुँवरले जानकारी दिएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका ८ का २० वर्षीय सुशील रम्तेल, गजुरीकै १७ वर्षीय सविन रम्तेल, कास्कीको फुलबारी ११ का २४ वर्षीय सुमन थापा, पर्वतको जलजला गाउँपालिका ६ की ४२ वर्षीया राधिका सापकोटा, पर्वतकै मोदी गाउँपालिका ५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री र म्याग्दीको धौलागिरी गाउँपालिका ५ का ७२ वर्षीय टेकबहादुर छन्त्याल छन् ।

दुर्घटनामा परेको बसमै सवार म्याग्दीको मंगला गाउँपालिका २ का ३६ वर्षीय हरि अरमोजा दुर्घटनापछि बेपत्ता छन् । ‘उहाँ सोही बसमा चढेर काठमाडौंबाट घर फर्किंदै गरेको जानकारी आफन्तले दिनु भएको छ,’ डीएसपी कुँवरले भने, ‘तर, उहाँलाई हामीले फेला पार्न सकेका छैनौँ । उहाँलाई नदीले बगाएको पनि हुनसक्छ ।’

दुर्घटनामा परेको बसका चालक म्याग्दीको बेनी ६ का ३० वर्षीय दीपक थापा उपचारपछि डिस्चार्ज भएका डीएसपी कुँवरले बताएका छन् । ‘उनलाई सामान्य चोट मात्रै लागेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई हामीले नियन्त्रणमा राखेका छौँ,’ एसपी कुँवरले भने, ‘साँघुरो र जीर्ण सडकमा तीव्र गतिमा चलाउँदा बस दुर्घटनामा परेको अनुमान हामीले गरेका छौँ ।’

दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । घाइते १२ जनाको हाल वीर अस्पतालको ट्रमा सेन्टर, बयोधा, बीएण्डबी, किस्ट लगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

प्रकाशित : २०८० भदौ ७ गते ९:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI