आजबाट सुरु हुँदै एक दिवसीय विश्वकप

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १८ गते ८:०७
आजबाट सुरु हुँदै एक दिवसीय विश्वकप

कावासोती  । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ ।

प्रतियोगिताको उद्घाटन खेल दिवा—रात्रि रूपमा खेलाइने छ । खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । नरेन्द्र मोदी स्टेडियम विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशालामध्येको एक हो । त्यो रङ्गशालाको दर्शक क्षमता एक लाख ३० हजार रहेको छ ।

इङ्गल्यान्ड र न्युजिल्यान्डबीचको उद्घाटन खेलमा कुमार धर्मसेना र नितिन मेननले फिल्ड अम्पायरको भूमिका निर्वाह गर्नेछन् । फिल्ड अम्पायरद्वय धर्मसेना र मेननलाई टिभी अम्पायर पल विल्सन, फोर्थ अम्पायर साहिद सैकत र म्याच रेफ्री जभागल श्रीनाथले साथ दिनेछन् ।

प्रतियोगिताको पहिलो दिन एउटा खेलमात्र खेलाइने छ । प्रतियोगिताका खेलहरू भारतका विभिन्न १० वटा सहरका १० वटा रङ्गशालामा खेलाइने छ । विश्वकप खेलाइने सहरहरूमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

यस पटक विश्वकपमा १० वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा आयोजक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अस्ट्रेलिया, इङ्गल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, नेदरल्यान्ड्सको सहभागिता रहने छ । इङ्गल्यान्ड, अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड एकदिवसीय विश्वकपको १३ वटै संस्करणमा सहभागिता जनाउने राष्ट्र हुन् ।

प्रतियोगिताको लिग चरणमा सहभागी १० वटै राष्ट्रले एक अर्कासँग एक—एक खेल खेल्नेछन् । लिग चरणको समाप्तिपछि अङ्क तालिकाको सबैभन्दा माथि रहने चारवटा टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलमा विजयी हुने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ तारिखमा अहमादाबादमा खेलाइने छ । प्रतियोगिता अवधिभरमा कुल ४८ वटा खेल खेलाइने छ । त्यसमध्ये लिग चरणमा ४५ वटा खेल खेलाइने छ ।

लिग चरणका खेलमध्ये ३९ वटा खेल दिवा—रात्रि रूपमा खेलाइने छ । सेमिफाइनलका दुई खेल पनि दिवा—रात्रि नै हुनेछन् । फाइनल खेल पनि दिवा—रात्रि नै हुनेछ । त्यसैले विश्वकपमा सहभागी कुल ४८ मध्ये ४२ खेल दिवा—रात्रि रूपमा खेलाइने छ ।

एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७५ मा आयोजना भएको थियो । पहिलो र दोस्रो विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको थियो । तर, यस पटक विश्वकपमा वेस्ट इन्डिज अनुपस्थित रहने छ । यो क्यारेबियन टोलीले विश्वकपको छनोट चरण नै पार गर्न सकेन ।

सबैभन्दा बढी एकदिवसीय विश्वकपको उपाधि जित्ने राष्ट्र अस्ट्रेलिया हो । अस्ट्रेलियाले हालसम्म पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितिसकेको छ । यसका अतिरिक्त वेस्ट इन्डिज र भारतले दुई—दुई पटक विश्वकपको उपाधि जितेका छन् । पाकिस्तान, श्रीलङ्का र इङ्गल्यान्डले पनि एक—एक पटक विश्वकपको उपाधि चुमेका छन् ।

यस पटक भारत, अस्ट्रेलिया, इङ्गल्यान्ड र न्युजिल्यान्डलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । प्रतियोगिताको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि न्युजिल्यान्डले हालसम्म उपाधि भने जित्न सकेको छैन ।

प्रकाशित : २०८० असोज १८ गते ८:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI