आयोजक भारतको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २२ गते ८:४१
आयोजक भारतको विजयी सुरुवात

कावासोती । दुई रन जोड्दा तीन विकेट गएको स्थितिबाट एक सय ६५ रनको बलियो साझेदारी गर्दै विराट कोहली र केएल राहुलले भारतलाई आइसिसी एकदिवसीय विश्वकपमा विजयी सुरुवात गराएका छन् । चेन्नईमा भएको खेलमा भारतले सर्वाधिक पाँचपटकको विजेता अस्ट्रेलियालाई ६ विकेटले हराएको हो । जितपछि समूहमा दुईपटकको च्याम्पियन भारतले दुई अंक जोडेको छ ।

अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३ र २००७ मा गरी ह्याट्रिक उपाधि जितेको थियो । पछिल्लोपटक सन् २०१५ मा उपाधि जितेको हो । भारतले सन् १९८३ र सन् २०११ मा उपाधि जितेको छ । जितका लागि दुई सय रनको लक्ष्य पछ्याएको भारतले खराब सुरुवात गरेको थियो । ओपनर तथा कप्तान रोहित शर्मा र ईशान किशन शून्यमै आउट भए । सुभमन गिलको स्थानमा खेलेका किशन भने गोल्डेन डकआउट हुन पुगे । चौथो नम्बर क्रिजमा आएका श्रेयस ऐयर पनि शून्यमै पेभिलियन फर्किएपछि भारत दबाबमा आएको थियो ।

तेस्रो नम्बर क्रिजमा आएका विराटले एक सय १६ बलमा ६ चौकासहित ८५ रन बनाए । चौथो विकेटका लागि कोहली र राहुलले दुई सय १५ बलमा एक सय ६५ रनको बलियो साझेदारी गरेका थिए । राहुलले अविजितत सर्वाधिक ९७ रन बनाउँदै भारतलाई सहज जित दिलाए । निर्धारित लक्ष्य पूरा गरेपछि राहुल सतक प्रहार गर्न तीन रनबाट टाढा रहे ।

स्पिनरसामु अस्ट्रेलियन ब्याट्सम्यान निरीह
घरेलु टोली भारतका स्पिनरसामु अस्ट्रेलियन ब्याट्सम्यान निरीह बनेपछि ठूलो स्कोर बनाउन सकेन । चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा मात्र एक सय ९९ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । स्टिभ स्मिथले ७१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाए ।

ओपनर डेबिड वार्नरले ४१, मिचेल स्टार्कले २८, मार्नुस लाबुस्चाग्नेले २७, ग्लेन म्याक्सवेल र कप्तान प्याट कमिन्सले समान १५ रन बनाएका थिए । वार्नर र स्मिथले ६९ रनको साझेदारी गरे । स्पिनर रवीन्द्र जडेजाले तीन र कुलदीप यादवले दुई विकेट लिँदा रविचन्द्रन आश्विनले एक विकेट लिएका हुन् । तीव्र गतिका बलर जसप्रित बुमराहले दुई विकेट लिए । जडेजाले १० ओभरमा २ मेडनसहित २८ रन खर्चिए । कुलदीपले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका हुन् । बुमराहले १० ओभरमा ३५ रन खर्चिए ।

प्रकाशित : २०८० असोज २२ गते ८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI