जनता ३ करोड सहुलियत पसल ९५ वटा

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २२ गते ८:४९
जनता ३ करोड  सहुलियत पसल ९५ वटा

कावासोती । सरकारले हरेक वर्ष जारी गर्ने बजेट वक्तव्यमा एउटा वाक्य छुट्दैन, ‘सहुलियत मूल्यमा खाद्य वस्तु बिक्री गर्ने सहुलियत पसल सञ्चालन गरिनेछ ।’ चालु आर्थिक वर्षको बजेटमा पनि यही वाक्य दोहोर्‍याइएको छ । छुटको खाद्यान्न नेपालका दुर्गम भेगसम्म पुर्‍याउन भनेर सरकारले सहकारी संस्थामार्फत छुट दिने घोषणा गरेको पनि छ ।

तर त्यसअनुसार कार्यान्वयन कहिल्यै भएको छैन । ‘सहुलियत मूल्यमा खाद्य वस्तु बिक्री वितरण गर्ने पसल सञ्चालन गर्न सहकारी संस्थालाई प्रोत्साहन गरिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ । तर वास्तविकता भने फरक छ । सरकारले विगतका वर्षझैं आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको छ । तर बजेटमा भनिए जसरी न सहुलियत पसलको संख्या बढाइएको छ, न नेपालका दूरदराजमा यस्ता पसलको पहुँच नै पुगेको छ ।

सरकारले सार्वजनिक गरेको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख हाराहारी छ । तर त्यसको तुलनामा सहुलियत पसल (बिक्री केन्द्र) ९५ वटा मात्रै सञ्चालनमा छन् । सहुलियत पसल नामकरण गरिएका बिक्री केन्द्र उपत्यकामै केन्द्रित छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९, साल्ट ट्रेडिङ कर्पोरेसनले ३५ र दुग्ध विकास संस्थानले ११ आउटलेटबाट आफ्ना सामानमा छुट दिएका छन् ।

‘बजेटमा घोषणा भएअनुसार सहुलियत पसल सञ्चालन गर्न सके दुर्गमवासीलाई धेरै राहत हुन्थ्यो । तर विडम्बना सहुलियत पसल औपचारिकतामा मात्रै सीमित भयो । छुट पसल उपत्यकामा मात्रै सीमित रहे, त्यो पनि सीमित क्षेत्रमा मात्रै,’ मन्त्रालयका एक सहसचिवले भने, ‘हरेक वर्ष एउटै स्थानबाट मात्रै सेवा दिइयो । उपत्यकामै पनि विविधीकरण गर्न सकेनौं ।’ तीन संस्थाले सञ्चालन गर्ने सहुलियत पसलमा सीमित खाद्य वस्तुमा मात्रै छुट दिइएको छ । छुटमा बिक्री हुने केही खाद्यान्नको मौज्दात हेर्दा सहुलियत पसल औपचारिकताका लागि मात्र सञ्चालित देखिन्छन् ।

‘सरकारले सस्तो मूल्यमा चिनी बेच्ने भने पनि खाद्यसँग चिनी छैन । साल्टसँग भएको चिनी तिहारसम्म पुग्दैन । थप आउने छाँट छैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘सहुलियत पसलका नाममा सरकारले कर्मकाण्ड मात्र पूरा गरेको छ । सहुलियत पसलबाट केही हुनेखानेले मात्रै सुविधा पाए, वास्तविक गरिब अनि असहायले पाएनन् ।’

वास्तविक असहायलाई सहुलियत दिन उपत्यकाभन्दा जिल्लामै बिक्री केन्द्र राखेर छुट दिनुपर्ने तिमिल्सिनाको भनाइ छ । जिल्लामा सञ्चालन नभएसम्म सर्वसाधारणले राहत पाउन नसक्ने उनी बताउँछन् । ‘विगतकै नजिर हेर्दा सहुलियत पसलमा सर्वसाधरणभन्दा सरकारी कर्मचारीको ओइरो लाग्छ । सीमित ठाउँमा सञ्चालन हुने पसल वरिपरिकाले मात्रै सुविधा पाउने हुन्,’ उनले भने, ‘साँच्चै छुट दिन गाउँपालिकास्तरबाटै सहुलियत पसल सञ्चालन गर्नुपर्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भने सरकारले सञ्चालनमा ल्याएका सहुलियत पसलले बजारको अनियन्त्रित मूल्यवृद्धि नियन्त्रण गर्ने दाबी गरे । सहुलियत पसलबाट धेरैभन्दा धेरै लाभ लिन उनले उपभोक्तालाई आग्रह गरे । तर सीमित ठाउँमा मात्रै सञ्चालनमा आएका पसलबाट धेरै सर्वसाधारण लाभ लिन नसक्ने उपभोक्ता अधिकारकर्मी बताउँछन् । मंसिर ३ सम्म सञ्चालन हुने सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यवस्तुअनुसार ७ रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिने कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाको भनाइ छ ।

खाद्यले उपत्यकासहित ४३ जिल्लाका ४९ बिक्री केन्द्रबाट छुट दिनेछ । काठमाडौंको थापाथली, रामशाहपथ, नख्खु र भक्तपुरको सूर्यविनायकमा रहेका बिक्री केन्द्रबाट छुट दिइने जनाइएको छ । ‘यी बिक्री केन्द्रबाट चामल, दाल, गहुँ, आटा, पीठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरामा प्रतिकिलो ७ रुपैयाँसम्म छुट दिन्छौं । कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो र कागुनोमा प्रतिकिलो १० रुपैयाँ छुट हुन्छ । दुग्ध विकास सस्थान (डीडीसी) को घिउमा प्रतिलिटर २० रुपैयाँ छुट पाइन्छ,’ उनले भने ।

डीडीसीले घिउ, बटर र पनिरमा छुट दिने जनाएको छ । उसले उपत्यकामा ३ र जिल्लामा ८ वटा बिक्री केन्द्रबाट छुट दिने बताएको छ । ‘उपत्यकामा लैनचौर, न्युरोड र खुमलटारबाट छुट सुविधा पाइन्छ । जिल्लाको हकमा विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया र धनगढी क्षेत्रमा भएको बिक्री केन्द्रबाट तीन वस्तुमा छुट दिन्छौं,’ डीडीसीका महाप्रबन्धक सञ्जीव झाले भने । एक लिटर घिउमा २०, ५ सय ग्राम पनिरमा ५० र २ सय ग्राम पनिरमा २० रुपैयाँ छुट दिइने उनले जनाए । २ सय ५० ग्रामको टेबल बटरमा ५०, १ सय ग्राम टेबल बटरमा २० रुपैयाँ छुट दिइने उनले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौंका ८ वटा केन्द्रमार्फत सुपथ मूल्यमा नुन, तेल, चिनी, चिउरा वितरण गर्ने जनाएको छ । बाहिर रहेका २७ बिक्री केन्द्रबाट पनि छुट दिइने साल्टका सह–महाप्रबन्धक कुमार राजभण्डारीको भनाइ छ । ‘नुनमा २, चिउरामा ७ र तेलमा ७ रुपैयाँ छुट दिनेछौं,’ उनले भने । साथै कर्पोरेसनले ३ वटा घुम्ती पसलमार्फत उपभोग्य वस्तु पुर्‍याउने तयारी भइरहेको जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौंका ८ वटा केन्द्रमार्फत सुपथ मूल्यमा नुन, तेल, चिनी, चिउरा वितरण गर्ने जनाएको छ । बाहिर रहेका २७ बिक्री केन्द्रबाट पनि छुट दिइने साल्टका सह–महाप्रबन्धक कुमार राजभण्डारीको भनाइ छ । ‘नुनमा २, चिउरामा ७ र तेलमा ७ रुपैयाँ छुट दिनेछौं,’ उनले भने । साथै कर्पोरेसनले ३ वटा घुम्ती पसलमार्फत उपभोग्य वस्तु पुर्‍याउने तयारी भइरहेको जनाएको छ ।-कान्तिपुर दैनिकबाट

प्रकाशित : २०८० असोज २२ गते ८:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI