मौलाकालिका मन्दिरमा भक्तजनको भीड

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक ५ गते ९:१०
मौलाकालिका मन्दिरमा भक्तजनको भीड

चितवन । गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउने क्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको संख्या उल्लेख्यरुपमा बढेको छ ।

गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्त समेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । दिउँसोको समयमा उकालो चढ्न कठिन हुने भएकाले बिहानमा मन्दिरमा भीड हुने गरेकामा अहिले साँझसम्म नै भक्तजन जाने गरेका हुन् ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार नवदुर्गा सुरुभएसँगै भक्तजनको संख्या बढेको छ । शनिबार फूलपातीका दिन आठ हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ । आज पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ । केबलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । मौलाकालिका केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार गत वैशाख महिनामा २५ हजारले केबलकार चढेका थिए । यो संख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उनले जानकारी दिए ।

करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रकाशित : २०८० कार्तिक ५ गते ९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI