खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक ११ गते १४:२९
खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने

कावासोती । कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै गएर राति २ बजेर ३८ मिनेटमा सकिनेछ ।

‘यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भूभागबाट देखिनेछ,’ बीपी कोइरालाल मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने, ‘नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट देखिनेछ ।’ खण्डग्रास चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेटको हुनेछ ।

‘कोजाग्रात पूर्णिमाका दिन लाग्ने पृथ्वीको सघन छायाले अधिकतम समयमा चन्द्रमाको ६ प्रतिशत मात्रै ढाक्नेछ,’ नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, ‘राति २ बजे आसपास चन्द्रमा हेर्दामात्रै ग्रहण भएको जस्तो लाग्नेछ । थोरै भाग मात्रै ढाक्नेछ ।’ चन्द्रग्रहण छोटो समय देखिने भए पनि त्यस रातको आकाश अवलोकनका लागि मौसम भने अनुकूल रहनेछ । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिको केही पहाडी क्षेत्रमा बदली भए पनि देशको अधिकांश भूभागको आकाश सफा रहने जनाएको छ । ‘सुदूरपश्चिम, कर्णालीर लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकबदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ,’ जल तथा मौसम विज्ञान विभागले तीनदिने पूर्वानुमानमा भनिएको छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासअनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ ।

सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ । चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ । यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको छ ।

प्रकाशित : २०८० कार्तिक ११ गते १४:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI