रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँचको अवस्था गम्भीर

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर ४ गते १३:३४
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँचको अवस्था गम्भीर

कावासोती  । रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बुढाको मृत्यु भएको हो ।

बालक बुढाको उपचारका निम्ति एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमा मृत्यु भएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले जानकारी दिए ।

उनका अनुसार अरू पाँचजनाको पनि अवस्था गम्भीर छ । गृह मन्त्रालयमा समन्वय गरेर काठमाडौंबाट हेलिकोप्टर आउन लागेको र त्यसमार्फत थप उपचारका निम्ति घाइतेलाई काठमाडौं पठाउने तयारी भइरहेको नगरप्रमुख वादीले बताए ।

सोमबार बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलंगा आउने क्रममा चौरजहारी–८, गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घटनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो ।

घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी मानिस सवार भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले आकलन गरेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताए । रासस

प्रकाशित : २०८० मंसिर ४ गते १३:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI