राष्ट्रपति विरुद्धको अभिव्यक्ति प्रकरण : रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २९ गते १०:५२
राष्ट्रपति विरुद्धको अभिव्यक्ति प्रकरण : रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि आक्रामक विरोध गर्दै आएकी नेत्री झाँक्रीलाई प्रहरीले बोलाएको हो ।

विरोध सभामा गरिएका भाषणमा भीभीआईपीलाई गालीगलौज गरेको भन्दै गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले छलफलका लागि बोलाएको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए ।

‘गोरखामा बोलेको विषयलाई लिएर हामीले फोन गरेर बोलाएका छौं,’ एसएसपी थापाले  भने, ‘बिहान १० बजे बोलाएका हौं ।

नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेत्री झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो । गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

ज्ञापन पत्रमा राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै नेत्री झाँक्रीले विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकाले कानूनबमोजिम कारबाही गर्न माग गरिएको थियो ।

गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्ने सांसदहरूमध्ये नेत्री झाँक्री पनि एक हुन् । रिट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको छ ।

नेत्री झाँक्रीमाथि प्रहरीले निगरानी गरेको समाचार प्रकाशित भएपछि बुधवार काठमाडौंमा आयोजित सभामा पनि झाक्रीले सार्वजनिक पदमा बसेको व्यक्तिको लिंग (महिला/पुरुष) नहुने भन्दै विरोधमा बोल्न पाइने बताएकी थिइन् ।

झाँक्रीले बुधवारको सभामा भनेकी थिइन्, ‘कार्यकारी प्रधानमन्त्रीको एसिस्टेन जस्तै एउटा कोठामा बसेर निरंकुशताको साक्षीको पात्रको विरुद्ध बोल्न पाइन्छ । एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? एउटा अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । कुनै पदमा लिंग हुँदैन सार्वजनिक पदको हो ।’

नेत्री झाँक्रीले भने आफूलाई प्रहरीबाट फोन नआएको दाबी गरिन् । उनले लोकान्तरसँग कुरा गर्दै प्रहरीबाट फोन नै नआएकाले प्रहरीमा जाने कुरै नभएको प्रतिक्रिया दिइन् ।-लोकान्तारबाट

प्रकाशित : २०७७ माघ २९ गते १०:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI