नेकपा विवाद : कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २३ गते ७:२२
नेकपा विवाद : कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

काठमाडाैं, २३ फागुन । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै विवाद निरुपण गर्न प्रक्रिया अघि बढाउने बताएको हो । ‘सम्भवतः आइतबार बस्ने आयोगको बैठकबाटै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम प्रक्रियामा लैजानेछु ।’ –प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो ।

नेकपाको आधिकारिकताको विवाद टुंग्याउन आलटाल गरिरहेको स्थितिमा प्रचण्ड र नेपाल पक्षले शुक्रबार दोस्रोपटक आधिकारिकता दाबी गरेको थियो । यसअघि आयोगमा गरिएको आधिकारिकताको दाबीलाई कानुनको छिद्र खोजेर पन्छिन खोजिरहेको आयोगलाई अब विवाद नसुल्झाई सुख नै नपाउने अवस्था निम्तिएको आयुक्तहरु बताउँछन् ।

पछिल्लोपटक नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर आयोगको ध्यान गएको थियो । आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाएर जिम्मेवारीबाट पन्छिन चाहेको संकेत दिएको थियो । आयोगले अनौपचारिकरुपमा तीन विकल्पमा लगातार छलफल गरिरहेको थियो ।

पहिलो हद म्याद नाघेकाले तामेलीमा राख्ने, दोस्रो विवादमा प्रवेश गर्ने र बहुमत–अल्पमत हेरेर आधिकारिकताको टुंगो लगाउने र अन्तिममा विवादमा प्रवेश गर्ने, तर सहमतिका लागि आग्रह गर्ने । तर आयुक्तहरु कुनै टुंगोमा पुगेका थिएनन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७७ फागुन २३ गते ७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI