ओलीलाई फाइदै फाइदा !

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३ गते ९:०३
ओलीलाई फाइदै फाइदा !

काठमाडौं, ३ चैत ।  नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले बेवास्ता गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा पुगेको छ । जबकी सभापति देउवाले बेवास्ता गर्दा (जसपा) अनिर्णित बनेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको गठबन्धन बनाउन अग्रसरता नलिएपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि तत्कालै कुनै निर्णय नलिने संकेत गर्नु परेकाे छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाको एउटा धारले देउवालाई उनकै निवास बूढानीलकण्ठ पुगेर औपचारिक रुपमै प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि देउवाले अग्रसरता नलिएको उनीहरुको गुनासो छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले गत शुक्रबार देउवालाई प्रधानमन्त्री स्वीकार्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसअघि नै प्रस्ताव गरिसकेका थिए ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको धारले भने अहिल्यै कसैलाई पनि समर्थन गर्न नहुने फरक धारणा राख्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन कार्यदल नै बनाएर छलफल गरिरहेका बेला काँग्रेस सभापति देउवाले भने एकपटक पनि आफूहरुलाई बोलाएर छलफल नगरेको जसपाका नेताहरुको भनाइ छ ।

‘हामी आफैले समय लिएर आफ्नो एजेन्डा राख्न गत शुक्रबार गएका थियौँ तर देउवाले हामीलाई बोलाएर एकपटक पनि छलफल गरेका छैनन्,’ वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘सित्तैमा सहयोग गर्ने वाला छैनौँ । जसले हाम्रा मुद्दा सम्बोधन गर्ने भरोसा दिलाउँछ, उसैलाई हामी सहयोग गर्छौं ।’ यो खबर कान्तिपुर दैनिकमा छ ।

 

प्रकाशित : २०७७ चैत ३ गते ९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI