माओवादी केन्द्र र जसपाको साथ लिएर कांग्रेस नेतृत्वमा सरकार : शशांक

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ५ गते १७:३०
माओवादी केन्द्र र जसपाको साथ लिएर कांग्रेस नेतृत्वमा सरकार : शशांक

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को साथ लिएर कांग्रेसले सरकार गठन गर्ने कोइरालाको भनाइ छ ।

बिहीबार विराटनगरमा कांग्रेस नेता अशोक कोइलालाई अन्तिम श्रद्धाञ्जलि दिन आएका उनले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग भने, “प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्दै छौँ । त्यसलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।”

डा. कोइरालाले देशले अब ओलीको विकल्प खोजिसकेको भन्दै उनको नेतृत्वको सरकारको वैधानिक हैसियतसमेत सकिएको टिप्पणी गरे । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरतातर्फ लैजाने काम ओलीबाट भएको उनले बताए । “कांग्रेसले अरु दलहरुसँग समेत छलफल गरिरहेको छ । बढीमा १० दिनभित्र प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वास प्रस्ताव लग्छौँ,” उनले भने ।

कांग्रेस पार्टी कार्यालय मोरङमा आयोजित श्रद्धाञ्जलि सभामा महामन्त्री कोइरालाले लोकतन्त्र प्राप्तिको आन्दोलनमा अशोक कोइरालाको योगदान अतुलनीय रहेको चर्चा गरे ।

प्रकाशित : २०७७ चैत ५ गते १७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI