प्रधानमन्त्री ओली संसदलाई असफल बनाउने प्रयासमा छन् : गगन थापा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ६ गते १६:२८
प्रधानमन्त्री ओली संसदलाई असफल बनाउने प्रयासमा छन् : गगन थापा

पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदलाई औचित्यहिन बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।  पोखरामा शुक्रबार आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको दोस्रो भेला एवं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीलाई देश र जनताको चिन्ता भन्दापनि आफ्नो सत्ताको मात्र चिन्ता रहेको उनको भनाई छ । ‘नैतिकता प्रदर्शन गर्ने र राजिनामा दिनुको साटो मैले विघटन गरेको संसद औचित्यहिन छ भन्ने पार्नमा प्रधानमन्त्रीको ध्यान छ । उहाँले यो संसदलाई विजनेश दिन चाहनुहुन्न । जनप्रतिनिधिको थलोलाई उहाँले पंगु बनाउन चाहनुहुन्छ,’ उनले भने ।

जनताले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता हाँक्ने जिम्मा दिएपनि अब नेकपा नरहेपछि कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्ने अवस्था आएको उनले विश्लेषण सुनाए । स्वभाविक रुपमा प्रधानमन्त्री ओलीको कदमलाई विरोध गर्नेहरुको बीचमा सरकार बन्नुपर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने पक्षमा आफूहरु रहेको उनले प्रष्ट्याएका छन् ।

जसपा र माओवादी केन्द्रले पनि यस विषयमा तुरुन्त निर्णण लिनुपर्ने र प्रधानमन्त्री ओलीलाई जतिसक्दो चाँडो विदा गरेर उनले विगारेका विषयलाई सच्याउनुपर्ने नेता थापाले जिकिर गरे । ‘नेपाल कम्युनिष्ट पार्टीले ५ वर्षका लागि सरकार चलाउने जिम्मा पाएको हो । १८ सय दिनलाई जनताले जिम्मा दिएका हुन् । एउटा व्यक्ति जो सबै चरम अहंकारी र जो आयोग्य छ । मन्द मुस्कानका साथ प्रधानमन्त्रीको दम्भ छ । उहाँमा अलिकति पनि लाज, अप्ठ्यारो र संकोज लाग्ने हो भने तुरुन्त राजिनामा दिनुपर्ने हो । तर त्यसो गरिरहनुभएको छैन । अब देश र संविधानलाई उहाँबाट थप पिडा नदिनका लागि यथासक्य चाँडो उहाँलाई विदा दिनुपर्छ । यसको नेतृत्व पनि अब कांग्रेसले नै गनुपर्छ,’ उनले भने ।

कांग्रेस नेता थापाले थपे, ‘प्रधानमन्त्री ओलीमा अहिले अहिलेपनि म सर्वोत्वम हो । म नै सत्य हो । सबै गल्ति कम्जोरी अरुका हुन् भन्ने लागिरहेको छ । यसमा हाम्रो पनि कम्जोरी छ । हामीलाई देखेर प्रधानमन्त्री डढराउनुपर्ने हो । हामीले त्यो मामलामा हामी कम्जोर भयौं । प्रधानमन्त्रीको पार्टीभित्रका मानिसको निरिहताले पनि समस्या आएको छ । दुई वर्षसम्म प्रधानमन्त्रीले काम गर्दैगर्दा उहाँहरुले प्रधानमन्त्रीलाई करेक्सन गराउन खोज्नुभएन ।’

प्रधानमन्त्रीको अहंकार यो अवस्था ल्याउन प्रचण्ड र माधव नेपालको समेत भूमिका रहेको नेता थापाले अरोप लगाए । उनले प्रधानमन्त्रीका तमाम अपराधमा दुबैले आँखा चिम्लेको समेत बताए । ‘दुई वर्षसम्म उहाँहरुपनि केही पाहिन्छ कि भनेर बोल्नुभएन । अहिले यो अवस्था आउनुमा उहाँहरुपनि जिम्मेवार हो’ उनले भने । कोरोना संक्रमणका बेला समेत प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकार जिम्मेवार नबनेको उनले सुनाए । कोभिडको महामारीमा बाहिरबाट आउने नागरिकको हवाई टिकटमा समेत सरकारले कमिसन खाएको उनको टिप्पणी थियो ।

‘सरकारले कोराना संक्रमणका बेला जनकपुरबाट सांसद अपहरण गर्‍यो । सरकार पार्टी फुटाउने अध्यादेश ल्यायो । ६ महिनाभित्र संसद बोलाउने र जनताको जनजिविकालाई सहज बनाउने सवालमा छलफल हुनुपर्ने बेला केपी ओलीले संसद विघटन गरिदिए । अनि अहिले यो अवस्थामा देशलाई ल्याई पु¥याए’ उनले भने ।
प्रधानमन्त्री केपी ओलीले दलहरु र त्यसका नेतालाई जनताको जनजिविका तर्फ भन्दापनि अदालत, संविधान, कानुन र सरकारको बारेमा मात्र कुरा कुरा गर्न र सोच्न बाध्य बनाएको तर्क गरे । विश्व समुदाय कोभिडको प्रभावबाट परेको प्रभावलाई कसरी अन्त्य गर्ने भनेर योजना बनाएको छ । तर, हाम्रो प्रधानमन्त्री स्वयं आफै समस्या निकालिरहेका छन् ।

प्रधानमन्त्रीको सनकले ५/६ महिना जनताको समस्याको विषयमा दलहरु र आफूहरु केन्द्रित हुन नपाएको उनको भनाइ थियो ।   प्रधानमन्त्री ओलीले छुकछुक रेल, नेपाली झण्डा, हवाई मार्ग बन्नुमात्र समृद्धि ठान्दा समस्या आएको उनको भनाई छ । नेता थापाले प्रधानमन्त्रीले मान्छेको बारेमा सपना नै नदेखेको आरोप लगाए । ‘प्रधानमन्त्रीको सपनामा रेल छ । तर, रेलमा चढ्ने मान्छेमा छैन । उहाँको सपना पानी जहाजमा छ । उहाँमा पानी जहाजमा चढ्ने मानिसको बारेमा केही सपना छैन । मानिस बिनाको खोक्रो विकास समृद्धि होइन’ उनले भने ।

प्रकाशित : २०७७ चैत ६ गते १६:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI