कोभिड १९ विरुद्ध फाइजरको खाने चक्की तयार

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १३ गते ९:५२
कोभिड १९ विरुद्ध फाइजरको खाने चक्की तयार

वासिङ्गटन । अबदेखि भर्खरै कोभिड १९ संक्रमित बिरामीले घरैमा दुईवटा नयाँ उपचारको विकल्प पाउने भएका छन् । त्यसमा पनि सबैभन्दा सजिलो उपाय भनेको कोरोना भाइरसको लक्षणहरु देखिनासाथै औषधि चक्की खानु हो । यसका लागि सबैभन्दा पहिले कोरोना परिक्षण गराउने, प्रेसक्रिप्सन लिने र औषधि चक्की सुरु गरिहाल्ने हो ।

गत साता मात्र संयुक्त राज्य अमेरिकाको औषधि नियमनकर्ताहरुले फाइजर कम्पनीको प्याक्स्लोभिड र मर्क कम्पनीको मोल्नुपिराभिर प्रयोगका लागि अधिकार दिएको हो । उच्च जोखिममा परेका बिरामीहरुमा यी दुवै औषधिको सेवनले अस्पतालमा भर्ना गर्नुपर्ने वा कोभिड १९ को कारण मृत्यु हुने सम्भावना न्युन पारेका छन् । तर फाइजरको खाने चक्की तुलनात्मक रुपमा अझै बढी प्रभाबकारी रहेको देखिएको छ ।

 

यस्ता चक्की कसले लिनुपर्दछ ?

यी एन्टिभाइरल चक्की कोरोना पोजिटिभ देखिएका सबैका लागि भने होइनन् । यी चक्की हल्का कोभिड १९ को लक्षण देखिएका तथा अझै गम्भीर बिरामी पर्न सक्ने सम्भावना रहेका व्यक्तिहरुका लागि हुन् । यस समूहमा वृद्ध व्यक्तिहरु र मुटु, क्यान्सर र मधुमेह रोग लागेका व्यक्तिहरु पर्दछन् ।

यस्ता रोगीहरुलाई कोभिडले अझै शिथिल र गम्भीर बनाउन सक्छ । दुवै खाने चक्की वयष्कहरुका लागि सिफारिश गरिएका छन् । तर प्याक्स्लोभिड भने १२ वर्ष उमेर पुगेका बालबालिकालाई पनि खुवाउन मिल्ने बताइएको छ ।

मर्कको मोल्नुपिराभिर भने बालबालिकालाई सेवन गराउन अनुमति दिइएको छैन किनभने यसले तिनीहरुको हड्डीको वृद्धि तथा विकासमा बाधा पुर्‍याउने बताइएको छ । यो चक्की शिशुको जन्ममा समस्या आउन सक्ने सम्भावनाका कारण गर्भवती महिलालाई पनि सिफारिश गरिएको छैन ।

यसैबीच फाइजरको चक्की मिर्गौला वा कलेजोको गम्भीर समस्या भएका बिरामीलाई सिफारिश गरिएको छैन । साथै यी दुवै खाने चक्की अस्पतालमा भर्ना भएर कोभिड १९ को उपचार गराइरहेका बिरामीहरुलाई पनि प्रयोग नगराइने बताइएको छ ।

उपचार विधि कस्तो छ त ?

कोरोना भाइरसको लक्षणहरु देखिएको पाँच दिन भित्रै यी चक्कीको सेवन गर्नुपर्दछ । कोरोनाका सामान्य लक्षणहरु भनेका खोकी लाग्नु, टाउको दुख्नु, ज्वरो आउनु, स्वाद वा वास्ना हराउनु तथा मांशपेसी र शरीर दुख्नु हुन् । अमेरिकाको रोग नियनत्रण तथा रोकथाम केन्द्रले यि लक्षणहरु जाँच्नका लागि एउटा वेबसाइट नै राखेको छ ।

ड्युक युनिभर्सिटी हस्पिटलका सरुवा रोग विशेषज्ञ डा. केमरोन वोल्फे भन्छन्, “कोभिड १९ का लक्षणहरु देखिनासाथ स्वास्थ परिक्षण गराइहाल्नुपर्दछ । श्वास फेर्न कठिन नहुन्जेल पर्खिबस्नु हुन्न । समयमै यि चक्की सेवन गरेको खण्डमा निकै लाभदायक हुन्छ ।”

यि चक्की कहाँ पाउन सक्छ ?

सबैभन्दा पहिले कुनै डाक्टर वा अन्य आधिकारिक स्वास्थ कार्यकर्ताबाट सिफारिश लिनुपर्दछ । सरकारले मर्क र फाइजरबाट यी चक्की खरिद गरेर निशुल्क उपलब्ध गराउँदैछ । तर सुरुमा आपुर्ति सीमित हुने बताइएको छ । ति चक्कीहरु विभिन्न राज्यका औषधि पसल, सामुदायिक स्वास्थ केन्द्र र अन्य स्थानहरुमा पठाइनेछन् । यसको सेवन पाँच दिनसम्म गर्नुपर्दछ । यि चक्की कोरोना भाइरसको नयाँ विकसित स्वरुप ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : २०७८ पुष १३ गते ९:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI