तपाईंको आम्दानी कति ? यस्तो छ करको दर

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २३ गते २०:२५
तपाईंको आम्दानी कति ? यस्तो छ करको दर

नवलपुर । तपाईंले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईंलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ ।

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्‍याे । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गरेका थिए । सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ ।

विभागका अनुसार तपाईं अविवाहित हो भने पाँच लाख रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे हुन्छ । त्यस्तै तपाईं विवाहित हो भने छ लाख रुपैयाँसम्म पनि एक प्रतिशतका दरले मात्रै कर तिरे हुन्छ । त्यो भनेको एकलले पाँच हजार र दम्पतिले छ हजार रुपैयाँ मात्रै कर तिरे हुन्छ ।

त्यस्तै, तपाईंको आम्दानी पाँच लाखदेखि सात लाख रुपैयाँसम्मको आय र छ लाख रुपैयाँभन्दा बढी आठ लाख रुपैयाँसम्मको आयमा एकल र दम्पति दुवै समूहले १० प्रतिशत अर्थात् २० हजार रुपैयाँबराबर कर तिर्नुपर्छ । सात लाख रुपैयाँभन्दा बढी १० लाख रुपैयाँसम्मको करयोग्य आय र आठ लाखभन्दा बढी ११ लाख रुपैयाँसम्मको करयोग्य आयमा पनि समान २० प्रतिशत अर्थात् ६० हजार रुपैयाँबराबरको कर तिर्नुपर्छ ।

यस्तै, १० लाखभन्दा बढी २० लाख रुपैयाँसम्म एकलले २० प्रतिशत अर्थात् तीन लाख बराबरको कर तिर्नुपर्छ । त्यस्तै ११ लाखदेखि २० लाखसम्म कर योग्य आय गर्ने दम्पतीले ३० प्रतिशत अर्थात् दुई लाख ७० हजार रुपैयाँबराबरको कर तिर्नुपर्छ ।

यसैगरी २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेले समान रूपमा तीन लाख ६० हजार रुपैयाँबराबरको कर तिर्नुपर्ने विभागले साेमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विभागका अनुसार ३० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने एकलले सात लाख ४५ हजार र दम्पतिले सात लाख १६ हजार रुपैयाँबराबरको कर तिर्नुपर्छ ।

एकलौटी रुपमा फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरणबापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिको आयमा एक प्रतिशतको कर नलाग्ने विभागले स्पष्ट पारेको छ ।

यस्तै, कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा तीन लाख रुपैयाँ वा निजको निर्धारण योग्य आयका एक तिहाई जुन घटी हुन्छ । सो रकमसम्म आफ्नाे करयोग्य आयबाट घटाउन सक्नेछन् ।

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको हिताधिकारी व्यक्तिले सो कोषमा योगदान गर्दा पाँच लाख रुपैयाँ वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्ने प्रावधान छ ।

यस्तै दुगर्म क्षेत्रमा कार्यरत व्यक्तिले पनि करयोग्य आयबाट घटाउन पाउने रकम पनि निर्धारण गरिएको छ । क वर्गका क्षेत्रमा कार्यरतले ५० हजार, ख वर्गका क्षेत्रमा ४० हजार, ग वर्गका क्षेत्रमा ३० हजार, घ वर्गका क्षेत्रमा २० हजार र ङ वर्गका क्षेत्रमा कार्यरतले १० हजार रुपैयाँबराबरको आयबाट घटाउन सक्नेछन् ।

विदेशस्थित कूटनीतिक नियोगका कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउनेछन् ।

स्वास्थ्य बीमाबापत तिरेको प्रिमियम वा २० हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने विभागले जनाएको छ । निजी भवनको बिमा गरेको रहेछ भने पनि त्यस्तो बिमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन घटी हुन्छ, त्यस्तो रकम पनि करयोग्य आयबाट घटाउन सकिन्छ ।

विभागका अनुसार महानगरपालिका वा उपमहानगरपालिकामा व्यवसाय गर्नेले सात हजार ५००, नगरपालिका क्षेत्रमा व्यवसाय गर्नेले चार हजार र त्यस बाहेकका क्षेत्रमा व्यवसाय गर्नेले दुई हजार ५०० रुपैयाँबराबरको कर तिर्नुपर्छ ।

ग्यास, चुरोटलगायत तीन प्रतिशतसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई ३० लाखभन्दा बढी ५० लाख रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलब २५ प्रतिशत, ती व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई ३० लाखभन्दा बढी ५० लाख रुपैयाँसम्म कारोबार रकमको एक प्रतिशत बराबर कर तिर्नुपर्छ । रासस

 

प्रकाशित : २०७९ जेठ २३ गते २०:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI