बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २५ गते ११:५८
बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको वासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा १४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । गत आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । आक्रमणका घटना अधिकांश मध्यवर्ती सामुदायिक वनमा भएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार तीनवटा घटना मात्रै निकुञ्जभित्र भएका हुन् । उनका अनुसार वर्षभरमा भएका सबै घटना निकुञ्ज र मध्यवर्ती वन क्षेत्रभित्र मात्रै भएका हुन् । वनमा न्यूरो टिप्न, घाँस, दाउरा गर्न जानेहरू आक्रमणको सिकार बन्ने गरेका छन् ।

निकुञ्जमा हालै गएको फागुनमा बाघ गणना गरिएको थियो । बाघको तथ्यांक सार्वजनिक भइसकेको छैन । आउँदो बाघ दिवस जुलाई २९ मा संख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको संख्या ९३ रहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य संख्या बढेका कारण मध्यवर्ती क्षेत्रमा बाघले बासस्थान बनाएकाले घटना बढेको अनुमान गर्छन् ।

मानिसहरूले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ । बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । संख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरूमा आफ्नो बासस्थान बनाउँदै गएको उनी बताउँछन् । बाघका सम्बन्धमा विद्यावारिधि गरेका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने बाघले बुढो भएर, घाइते भएर, हेपिएर, आहारा नपाउँदा, मानिसलाई आक्रमण गर्ने बताउँछन् । बच्चा हुर्काउँदै गरेको बाघले पनि आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

लामिछानेको भनाइमा बाघको संख्या बढेपछि निकुञ्जको भित्री भागसँगै मध्यवर्ती र  वरपरका जङ्गल क्षेत्रमा पनि बाघले बासस्थान बनाउन थालेको छ । ती क्षेत्रहरूमा पूर्ववत् अवस्थामा स्थानीयहरू घाँस दाउरा गर्न जाँदा घटना हुने गरेको उनको भनाइ छ ।

सामुदायिक वनहरूमा समूहमा प्रवेश गर्ने, हात्ती वा हेरालुको आवश्यकताअनुसार सहयोग लिन सकेमा बाघ आक्रमणका घटना कम हुने उनले बताए । साथै, चोरीको नियतले सुटुक्क वन पस्नेहरू बढी जोखिममा रहेको कँडेलको भनाइ छ । रासस

प्रकाशित : २०७९ जेठ २५ गते ११:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI