नवलपुर एक : के एमालेले तोडला त कांग्रेसको विरासत ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ३१ गते १७:०२
नवलपुर एक : के एमालेले तोडला त कांग्रेसको विरासत ?

आशिष रेग्मी/कावासोती । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा तर्फको निर्वाचनका लागि गत असोज २३ गते मनोनयन भए सँगै राजनीतिक माहोल तातेको छ । केही पुरानै र केही नयाँ अनुहारहरु मत माग्दै मतदाताको घर दैलोमा लाग्न सुरु गरेका छ्न । राजनीतिक दलका कार्यकर्ता भेटघाट, बैठक, अन्तरक्रिया, भेलाहरु बाक्लो रुपमा जिल्लामा सुरु भएको छ ।

२ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरको क्षेत्र नं १ मा कांग्रेसबाट तीन पटक निर्वाचन जितेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शशांक कोइराला चौथो पटकका लागि मैदानमा छ्न भने नेकपा एमालेले साबिक नवलपरासीको क्षेत्र नं ३ बाट २०७० को संविधान सभामा निर्वाचन जितेका केन्द्रिय सदस्य कृष्ण पौडेललाई उम्मेदवार बनाएको छ ।

गत २०७४ को आम निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीलाई नेपाली कांग्रेसका डा. शशांक कोइरालाले ४ हजार २४ मतान्तरले पराजित गरेका थिए । नेपाली कांग्रेसका डा. शशांक कोइरालाले ४० हजार ६ सय २० मत पाउँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीले ३६५९६ मत पाएका थिए ।

२०७४ मा नेकपा एमाले , नेकपा माओवादी केन्द्र सहित बाम गठबन्धन बाट निर्वाचन गएका वामदलहरु अहिले भने एकै ठाउँमा छैनन । २०७९ को निर्वाचन सम्म आईपुग्दा २०७४ मा एक्लै चुनाव लडेको नेपाली कांग्रेस यति बेला भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले फुटेर बनेको नयाँ नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन बनाएर चुनावमा होमिएको छ ।

२०७४ को सहयात्री दल नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी फुटेर नयाँ गठन भएको नेकपा एकीकृत समाजवादी सहित नेपाली कांग्रेसको गठबन्धन बनेको हुँदा यो निर्वाचनमा भने एमाले उम्मेदवार पौडेललाई त्यति सजिलो भने छैन ।

२०४८ देखि निरन्तर यस क्षेत्रमा निर्वाचन जित्दै आएको नेपाली कांग्रेस यस पटक पनि आफ्नो विरासतलाई जोगाएर डाक्टर कोइरालालाई चौथो पटक संसद पठाउने तयारीमा छ । यद्यपि स्थानीय तहको निर्वाचनमा क्षेत्र नं १ मा पर्ने ४ स्थानीय तह मध्य गैंडाकोट बाहेक अन्य पालिका गुमाएको कांग्रेस स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतमा भने अगाडि देखिन्छ यसमा माओवादीको मत जोडिदा कोइरालालाई थप सहज हुने देखिन्छ ।

चौथो पटक यहि क्षेत्रबाट मैदानमा उत्रिएका कोइरालाले मनोनयनकै दिन आफू प्रधानमन्त्री पदको दाबेदार भएको बताउदै मतदातालाई रिझाउन सुरु गरेका छ्न । आफुले पटक पटक वाचा गर्दै आएका ट्रमा सेन्टर, रंगशाला लगाएताका महत्वाकांक्षी योजनाहरु चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको भन्दै कोइरालाले मत माग्न सुरु गरेका छ्न । देश भरमै कांग्रेसको बलियो क्षेत्र मध्यको एक मानिएको यो क्षेत्रमा २०४८ देखि निरन्तर कांग्रेसले यो क्षेत्रमा निर्वाचन जित्दै आएको छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सहित केही स्वतन्त्र उम्मेदवारहरुले पनि एक्लाएक्लै उम्मेदवारी दिएकाले कांग्रेसमा हेविवेट मानिएका कोइरालालाई रोक्न भने यो क्षेत्रमा एमालेलाई भने जस्तो सहज भने देखिदैन

 

 

प्रकाशित : २०७९ असोज ३१ गते १७:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI