गण्डकीमा सत्ता गठबन्धनलाई बहुमत

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १३ गते ९:४८
गण्डकीमा सत्ता गठबन्धनलाई बहुमत

कावासोती । गण्डकीमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि कम्तीमा ३१ सिट ल्याउनुपर्छ । सत्ता गठबन्धनले प्रत्यक्षतर्फका ३६ सिटमध्ये २१ सिट (कांग्रेस १६ र माओवादी ५) जितेको छ ।

समानुपातिकका २४ सिटमध्ये यी दुई दलले करिब १३ सिट ल्याउने प्रक्षेपण गरिएको छ । अर्कोतर्फ एमालेले १२ सिट जितेको छ भने समानुपातिकमा ११ सिट पाउने अनुमान छ । मनाङ (२) बाट राजीव गुरुङ स्वतन्त्रबाट जितेका छन् भने स्याङ्जाको दुईवटा प्रदेशसभाको परिणाम आएको छैन । यसरी हेर्दा गण्डकी प्रदेशमा सत्ता गठबन्धनले सहजै बहुमत ल्याउनेछ ।

गण्डकीमा हालको सत्ता गठबन्धनको सरकार बन्ने अवस्था भएमा कांग्रेसका सुरेन्द्र पाण्डे प्रमुख दाबेदार हुन् । उनी गोरखा–२ (२) बाट निर्वाचित भएका छन् । गोरखा–२ बाट प्रतिनिधिसभामा जान खोजिरहेका उनलाई सत्ता गठबन्धनले मुख्यमन्त्रीको आश्वासन दिएर त्यहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टिकट दिएको थियो ।

मुख्यमन्त्रीका आकांक्षी रहेका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको नाम समानुपातिकमा रहे पनि उनी सांसद हुने/नहुने निश्चित छैन । ‘पार्टीले निर्णय गरेको अवस्थामा जिम्मेवारी सम्हाल्न तयार छु, तर यसका लागि अहिलेको सत्ता गठबन्धनलाई थप मजबुत बनाउनुपर्नेछ,’ पाण्डेले भने । त्यसै गरि नवलपुर १(१) बाट निर्वाचित कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसीलाई समेत मुख्यमन्त्रीको दावेदारको रुपमा हेरिएको छ । रामचन्द्र पौडेल र शशांक कोईराला निकट मानिएका जिसीलाई पौडेल र कोईरालाले सहयोग गरे मुख्यमन्त्री बन्न सक्ने कांग्रेस स्रोतले बतायो । मुख्यमन्त्रीका दावेदार मानिएका जिसीले राजनीति भेटघाट र संवादलाई अगाडी बढाएका छन ।

एमालेबाट पूर्वगृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्रीका दाबेदार हुन् । उनी मुख्यमन्त्रीको आकांक्षा बोकेर प्रदेशसभामा चुनाव लडेका थिए । गण्डकीमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवस्था आएमा तनहुँ–१ (२) बाट निर्वाचित हरिबहादुर चुमान मुख्यमन्त्री बन्नेछन् ।

प्रकाशित : २०७९ मंसिर १३ गते ९:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI