गण्डकीको मुख्यमन्त्रीमा जिसीको दाबी

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २३ गते १२:३७
गण्डकीको मुख्यमन्त्रीमा जिसीको दाबी

कावासोती । नवलपुर १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेस नेता महेन्द्रध्वज जीसीले गण्डकी प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छन् । कांग्रेसबाट यसपटक प्रदेशसभामा प्रत्यक्ष निर्वाचिन १८ प्रदेशसभा सदस्यमा उनी सबैभन्दा पाका कांग्रेस नेता हुन् ।

कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित १८ मध्ये १२ जना संस्थापनइतर (जीसीका) पक्षमा देखिएका छन् भने ६ जना सभापति देउवानिकटका छन् । समानुपातिकका ९ जनामा बहुमत संस्थापनका छन् । प्रदेशमा २७ सिट रहेको कांग्रेसमा १४ जना देउवा पक्षधर र १३ जना रामचन्द्र पौडेल र डा. शशांक पक्षधर छन् । प्रदेशसभामा संसदीय दलको नेतामा उम्मेदवार दिने जीसीले बताए । पौडेल–शशांकका साझा उम्मेदवारका रूपमा जीसीलाई हेरिएको छ ।

गण्डकीमा अर्का प्रतिस्पर्धी गोरखाका सुरेन्द्र पाण्डे, कास्कीका बिन्दुकुमार थापा र स्याङ्जाका भोजराज अर्यालको पनि दाबी छ । पाण्डे र थापा सभापति देउवानिकट र अर्याल संस्थापनइतरका हुन् । ‘दुईपटक प्रतिनिधिसभामा निर्वाचित भइसकेको र यसपटक प्रदेशसभामा निर्वाचित भएकाले मुख्यमन्त्रीमा मेरो दाबी स्वाभाविक छ’, जीसी भन्छन् ।

जीसी ०५१ मा प्रतिनिधिसभा सदस्य र ०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । पौडेल र कोइरालाले पार्टी सभापति देउवासँग जीसीको पक्षमा लबिइङ गरेका छन् । जीसी जिल्लाका कांग्रेस सभापति पनि हुन् । गण्डकीमा सत्ता गठबन्धनअन्तर्गत कांग्रेस नेतृत्वमा सरकार बन्ने देखिएको छ ।

नवलपरासी कांग्रेसमा गत ४० वर्षदेखि जीसीको एकछत्र राज चल्दै आएको छ । उनी २०३७ सालमा तत्कालीन रजहर गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएर कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । त्यसपछि तत्कालीन जिल्ला पञ्चायतको २ कार्यकाल सभापति निर्वाचित भएका हुन् । उनी हालसम्म १३ वटा सरकारी निर्वाचनमा उम्मेदवार बनिसकेका छन् ।

कर्मचारीतन्त्रमा राम्रो चिनजान भएका मानिने जीसी सालिन छवि र विवादमुक्त व्यक्ति हुन् । मुख्यमन्त्रीको दाबी गरेका जीसी काठमाडौंमा उच्च तहका नेताहरूसँग भेटघाटमा छन् । कांग्रेसका जिल्ला सचिव होमराज रानाभाट पाका र अनुभवी भएका कारण जीसी स्वाभाविक रूपमा संसदीय दलको नेता चुनिने बताउँछन् ।

प्रकाशित : २०७९ मंसिर २३ गते १२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI