सात करोडको सुन्तला बिक्री

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष १८ गते ८:४५
सात करोडको सुन्तला बिक्री

बुलिङटार  । पूर्वी नवलपरासीमा यो वर्ष सुन्तला उत्पादन बढेको छ । जेठ असारमा फूल खेल्ने समयमा पर्याप्त पानी परेका कारण उत्पादन बढी हुँदा करिब सात करोड रुपियाँको सुन्तला बिक्री भएको कृषकले बताएका छन् ।

डाँडाझेरीका सुन्तला कृषक गुन्जबहादुर आलेमगरका अनुसार मौसमले समेत साथ दिएको र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको साथ पाएकाले पनि उत्पादन बढेको हो । यो वर्ष बुलिङटार र बौदीकाली गाउँपालिकाको पहाडी क्षेत्रमा सुन्तला उत्पादन राम्रो भएको हो ।

नवलपुरमा चार वर्ष पहिलेदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याइएको थियो ।

परियोजना प्रमुख विष्णुप्रसाद शर्माका अनुसार बुलिङटार गाउँपालिकाका छवटा वडा, बौदीकाली गाउँपालिकाका चारवटा वडा, देवचुली नगरपालिकाको वडा नं. ६, हुप्सेकोट गाउँपालिकाको वडा नं. ५ मा यो कार्यक्रममार्फत ५५० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको छ । परियोजनामार्फत किसानलाई बीउबिजन अनुदान, मेसिनरी औजार अनुदानलगायतका सेवा उपलब्ध गराइने गरेको उहाँले बताउनुभयो । सो क्षेत्रमा गत वर्ष चार करोडको सुन्तला बिक्री भएको थियो ।

सुन्तला खेतीका लागि बौदीकाली र बुलिङटार गाउँपालिकाका क्षेत्रलाई पकेट क्षेत्रका रूपमा मानिन्छ । यसबाहेक धुर्कोट, रतनपुर र विनयी त्रिवेणीका केही वडामा पनि सुन्तला खेती राम्रो हुने गर्छ ।

प्रकाशित : २०७९ पुष १८ गते ८:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI