गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत २० गते १९:५७
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको हो ।

धुर्मुस-सुन्तली फाउन्डेसनले सुरु गरेको निर्माण रकम अभावका कारण अलपत्र परेको थियो ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए ।

केही साताअघि फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए । सोमबारको मन्त्रिपरिषद्‍को निर्णयसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।

हालसम्म रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको बताइएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको हो । कट्टेलका अनुसार ८ वटा पिचलगायतका काम बन्न बाँकी छ ।

कट्टेलले अहिलेसम्म उधारोमा काम गरेको र ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसकेको बताएका थिए । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले कट्टेलले अब आफूहरूको सामर्थ्यले नधान्ने भन्दै काम रोक्नुपरेको बताएका थिए ।

प्रकाशित : २०७९ चैत २० गते १९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI