नारायणगढ-बुटवल सडकले गति लिन सकेन

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत २१ गते ११:०५
नारायणगढ-बुटवल सडकले गति लिन सकेन

कावासोती । ठेक्का तोड्ने चेतावनी दिए पनि बुटबल–नारायणगढ सडकको ठेकेदार कम्पनीले सडक निर्माणको कामलाई अझै गति दिएको छैन। कार्यालयले गत असोज र कात्तिक महिनामा दुई पटकसम्म सार्वजनिक सूचना जारी गरेर ठेक्का तोड्नेसम्मको चेतावनी दिँदा पनि चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले निर्माणमा स्पिडअप (गति) बढाउन भने सकेको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालसालै सार्वजनिक गरेको तथ्यांकअनुसार यो खण्डको सडकको समष्टिगत भौतिक प्रगति २८ प्रतिशत भएको छ। नारायणगढ–बुटवल सडक योजना कार्यालयका पश्चिम खण्डका योजना प्रमुख प्रदीपराज शाक्यले ठेकेदार कम्पनीले अपेक्षित गतिमा सडक निर्माणको काम गर्न नसकेको बताए। ‘निर्माण व्यवसायीले मासिक ५ प्रतिशत दरले भौतिक प्रगति गर्नुपर्ने हुन्थ्यो। तर अहिले मुस्किलले मासिक २÷३ प्रतिशत मात्रै भौतिक प्रगति हासिल गर्दै आइरहेको छ,’ उनले भने, ‘निर्माण व्यवसायीले अपेक्षित गतिमा अहिलेसम्म पनि काम गर्न सकिरहेका छैनन्।’ योजना प्रमुख शाक्यले अहिले सरकारी निकायको तर्फबाट कुनै खालको अवरोध नहुँदा पनि निर्माण व्यवसायीले काममा स्पिडअप गर्न नसकेको बताए।

‘अहिले पश्चिम खण्डको २८ प्रतिशत भौतिक प्रगति भएको छ भने पूर्वी खण्डको ३० प्रतिशत मात्र काम भएको छ,’ उनले भने। योजना कार्यालयले निर्माण व्यवसायीका लागि आगामी साउन २२ गतेसम्मका लागि म्याद थप गरेको छ। योजनाप्रमुख शाक्यले निर्माण व्यवसायीलाई वर्षायामअगावै ४० प्रतिशत भौतिक प्रगति हासिल गर्नका लागि बारम्बार ताकेता गर्दै आइरहेको बताए। गत साउन २२ गते आयोजनाको ४२ महिने म्याद सकिएको थियो।

अहिलेसम्म यो आयोजनाको समष्टिगत भौतिक प्रगति भने २८ प्रतिशत मात्रै छ। यो सडकअन्तर्गत ११३ किलोमिटर सडक स्तरोन्नति गर्ने योजनासहित २०७५ चैत ८ गते उद्घाटन गरिएको थियो। ठेक्का सम्झौताअनुसार यो सडकखण्ड ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सरकारले आव २०७५÷७६ मा ११३ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो तर तोकिएको साढे तीन वर्षको भौतिक प्रगति हेर्दा चालु आवमा एक वर्ष म्याद थप गरे पनि सम्पन्न हुने देखिँदैन। नारायणगढ–बुटवल पूर्वीखण्डमा ६४.४२५ किलोमिटर सडक पर्छ। त्यसैगरी बुटवल–नारायणगढ पश्चिमखण्ड अन्तर्गत ४८.५३५ किलोमिटर विभाजन गरेर निर्माण गरिँदै छ। यो सडक योजनाको पश्चिम खण्डमा ४८.५३५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गर्नुपर्ने हुन्छ।

यो खण्डअन्तर्गत दाउन्ने खण्डमा १० किलोमिटर तीन लेनको सडक विस्तार गरिनेछ। बजार क्षेत्रको ११.२ किलोमिटर सडक भने ६ लेनको विस्तार गरिँदै छ। त्यसैगरी २७.३३५ किलोमिटर सडक चार लेनमा स्तरोन्नति र सानाठुला गरेर जम्मा ३० वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ। २०७५÷७६ मा निर्माण सुरु गरिएको सो आयोजना भ्याटसहित ७ अर्ब ८६ करोड रूपैयाँमा ठेक्का लगाइएको हो। कम्पनीले सडकको सवबेस तयार पार्ने र तीनवटा पुलको फाउन्डेसन तयार पार्ने काम गरिररहेको छ।

योजनाका अनुसार अहिलेसम्म १३ वटा साना खालका पुल र तीनवटा ठुला पुल निर्माणको काम भएको छ। अहिले पूर्वी र पश्चिमखण्डको प्रगति क्रमशः ३० र २८ प्रतिशत छ। पश्चिम खण्डमध्ये दुई लेन सडकखण्डमा चार किलोमिटर सडक कालोपत्रे गरिएको छ। अहिले यी दुवै खण्डमा करिब ८ सयभन्दा धेरै कामदार खटिएका छन्। नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड) को भौतिक प्रगति पनि ३० प्रतिशत छ। पूर्वीखण्डअन्तर्गत ६४.४२५ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने हुन्छ। जसअन्तर्गत दाउन्ने खण्डमा ४.१ किलोमिटर तीन लेनको सडक विस्तार गरिँदै छ। बजार क्षेत्रमा १७.४ किलोमिटर सडक भने ६ लेनको विस्तार गरिने योजना रहेको छ। त्यसैगरी बाँकी ४३ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्न लागिएको हो।-नागरिक न्युजबाट

प्रकाशित : २०७९ चैत २१ गते ११:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI