मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख १ गते १५:४६
मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने

गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर आजबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।

आज बिहान बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको बटम स्टेसनबाट गैँडाकोट नगरपालिका वडा नम्बर ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरे ।

केबलकारमार्फत मौलाकाली  मन्दिरसम्म पाँच मिनेटमै  पुग्न सकिनेछ । करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला छन् । हाल केबलकारले दुइतर्फी मूल्य रु. ५५० कायम गरिएको शाहले जानकारी दिए

उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरूका लागि रु. ४१५ ज्येष्ठ नागरिकका लागि रु. ४१५ र फरक क्षमता भएकाहरूका लागि रु. २७५ को टिकट दर राखिएको छ ।

केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र तीन फिटभन्दा कमका बच्चाबच्चीहरूका लागि नि:शुल्क सेवा दिने जनाएको छ ।

प्रकाशित : २०८० वैशाख १ गते १५:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI