एसीसी प्रिमियर कप : उदघाटन खेलमा नेपाल मलेसिया सँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ५ गते ८:४३
एसीसी प्रिमियर कप : उदघाटन खेलमा  नेपाल मलेसिया सँग खेल्दै

कावासोती  । एसीसी प्रिमियर कपमा आज (मंगलबार) नेपालले समूह ‘ए’ मा मलेसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

नेपालले घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ का आठ खेलमा शतप्रतिशत जित निकालेको थियो ।

मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । नेपाल एकदिवसीय क्रिकेटमा पछिल्लो १२ खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रुपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपालसँगै समूह ‘ए’ मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।

प्रतियोगिताको पहिलो खेलअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले प्रिमियर कपमार्फत एसिया कप खेल्ने नेपालका लागि सुनौलो अवसर रहेको बताएका छन् ।

“एसिया कपमा छनोट हुने एकदमै राम्रो मौका छ । पछिल्लो समय हामीले एक टिमको रुपमा जुन हिसाबले क्रिकेट खेलिरहेका छौँ । यो प्रतियोगितामा पनि त्यसलाई कायम राख्नुपर्छ । मलाई लाग्छ त्यो स्तरलाई कायम राखेर खेल्यौँ भने हामी एसिया कप पुग्न सक्छौँ,” रोहितले भने, “हामीले अहिलेसम्म ठूलो टेस्ट नेसनसँग खेलेका छैनौँ । भारत, पाकिस्तान, श्रीलंकाजस्ता टेस्ट राष्ट्रसँग खेल्नका लागि एकदमै राम्रो मौका छ हामीसँग । उनीहरूसँग खेल्ने सम्भावना उच्च छ । तर, त्यसका लागि मुख्य प्रतियोगिता यो हो र अहिले यसमा केन्द्रित हुनु आवश्यक छ ।”

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई घरेलु मैदानको कारण नेपाललाई केही सहयोग गर्ने आशा व्यक्त गरे ।

“टिमबाट धेरै आशा छ । हामी सबै यो कुरालाई बुझ्छौँ । जब टिमले राम्रो गर्न थाल्छ, सबैको आशा पनि बढ्दै जान्छ । सबैभन्दा राम्रो कुरा हामी घरमै खेलिरहेका छौँ । वातावरणसँग राम्रो घुलमिल छ,” प्रशिक्षक देसाईले भने, “हाम्रा लागि समर्थकहरू छन् । र, प्रतियोगितामा केही प्रतिस्पर्धात्मक खेलहरू पनि छन् । मेरो आशा पनि यही छ । खेलाडीहरू प्रतिस्पर्धा उत्रिउन् । र, एक पटकमा एक बल, ब्याटलाई अंगालेर अघि बढुन् ।”

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा आजै मुलपानी क्रिकेट रंगशालामा समूह ‘बी’ का हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि बिहान ९ः३० बजेदेखि नै सुरु हुनेछ ।

प्रकाशित : २०८० वैशाख ५ गते ८:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI