ताल सुकेपछी जेनेरेटरबाट वन्यजन्तुका लागि पानी

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ११ गते १८:३२
ताल सुकेपछी जेनेरेटरबाट वन्यजन्तुका लागि पानी

सन्जय भट्टराई, कावासोती । लामो समय देखि परेको खडेरीको कारणले वन भित्रका तालहरु सुख्खा भए पछि वन्यजन्तुका लागी पूर्वी नवलपरासीको एउटा सामुदायिक वनले जेनेरेटरको सहायताले तालमा पानी भर्न सुरु गरेको छ ।

पूर्वी नवलपरासीको कावासोती १३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्र रहेको भुताहा ताल खडेरीका कारणले सुख्खा भए पछि वन्यजन्तुका लागी पिउने पानी र आहालको व्यवस्था गर्न सामुदायिक वनले आफ्नै खर्चमा तालमा जेनेरेटरको सहायताले पानी भर्न सुरु गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्र रहेको भुताहा तालमा पानी हुदाँ एकै समयमा दर्जन बढि एक सिङ्गे गैँडाहरु आहाल खेल्दै गरेको अवस्थामा भेटिने गरेको भए पनि लामो समय देखि परेको खडेरीका कारण ताल सुक्दा जंगल सफारीको क्रममा गैँडा हेर्न आउने पर्यटक त्यसै फर्किनु परेको भन्दै गत ५ दिन देखि सामुदायिक वनले तालमा पानी भर्न सुरु गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङ्गले बताए । “पानी नभएर ताल सुख्खा भए पछि गैँडा लगाएतका जनावर देखिन छोडे पछि पर्यटकहरु त्यसै फर्किन परेकाले वन भित्र रहेको करीब १ किलो मिटर लामो तालमा विगत ५ दिन देखि वन्यजन्तुका लागी पानी भर्न सुरु गरेका छौँ”, अध्यक्ष गुरुङ्गले भने ।

नमूना मध्यवर्ती सामुदायिक वनको यो क्षेत्रमा पूर्वी नवलपरासीको अमलटारी बाट मध्यवर्ती क्षेत्रका वनमा जंगल सफारीका लागी आउने पर्यटकका लागी रोजाइको क्षेत्र भए पनि पछिल्लो समय खडेरीका कारणले ताल सुख्खा हुँदा जंगल सफारीका लागी आउने पर्यटकहरु गैँडा नदेखी फर्किने गरेका थिए ।

तालमा पानी भर्न सुरु गरे पछि गैँडा लगाएतका जनावरहरु पानी पिउन तथा आहालको आउन सुरु गरेको बताउदैँ अध्यक्ष गुरुङ्गले पानी परेर मुल नफुटदा सम्म दैनिक पानी भर्ने बताए । सामुदायिक वनमा गत वर्ष गाडेको बोरिङ्गमा जेनेरेटर जोडेर पानी निकालेर ताल भर्ने काममा सामाुदायिक वनका पदाधिकारी र स्थानिय पालो गरेर लागेका स्थानिय जितेन्द्र सापकोटाले बताए । निकुञ्जसँग ताल भर्नका लागी सहयोग मागेर नपाए पछि वनले आफ्नै खर्चमा पानी भर्ने काम सुरु गरेको सापकोटा बताउछ्न ।

पछिल्लो समय गत असोज यता पूर्वी नवलपरासी पानी परेको छैन । लामो समय सम्म पानी नपर्दा सामुदायिक वन क्षेत्र भित्र भएका ताल तलैया तथा कृत्रिम पोखरीहरु सुक्दै गए पछि वन्यजन्तु समस्यामा परेका छन । जंगल भित्र पानी पिउन नपाए पछि वन्यजन्तु बस्तीमा पस्ने गरेपछि स्थानियहरु त्रसित भएका छन ।

प्रकाशित : २०८० वैशाख ११ गते १८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI