गण्डकीको बजेट : पूर्वाधारमा सवा ११ अर्ब, सांसद विकास कोषमा ७२ करोड

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १ गते १९:४५
गण्डकीको बजेट : पूर्वाधारमा सवा ११ अर्ब, सांसद विकास कोषमा ७२ करोड

कावासोती  । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि भौतिक पूर्वाधार शीर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । बहुआलोचित सांसद विकास कोष अर्थात् पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड छुट्याएको छ । प्रति निर्वाचन क्षेत्र २ करोडका दरले सांसदको तजबिजीमा खर्च हुने कार्यक्रमले निरन्तरता पाएको छ ।

प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि रु. ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिए ।

आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तब्यमा उल्लेख छ । पुँजिगत शिर्षकमा बिनियोजन भएको रु. २० अरब १९ करोडको बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ । भौतिक पूर्वाधार मन्त्रालय प्रदेशकै सबैभन्दा ठूलो बजेट भएको मन्त्रालय हो ।

मन्त्रालयले आगामी वर्षको योजनामा न्युनतम ३० लाख बजेट बिनियोजन गरेको छ । टुक्रे योजना कटौती गरेको र रु. ३० लाख भन्दा कमका योजना सिफारिस नगरेको भौतिक मन्त्री रेशम जुग्जालीले बताए ।

‘संघीय व्यवस्थालाई बलियो बनाउने र प्रदेशको औचित्य पुष्टि गर्न पनि योजना तर्जुमाको परम्परागत शैली बदलेका छौं,’ उनले भने, ‘बहुबर्षीय ठेक्का लागिसकेका पुराना आयोजनालाई पूर्णता दिन प्राथमिकता दिँदै नयाँ योजना थपिएका छन् ।’

प्रकाशित : २०८० असार १ गते १९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI