गण्डकीको बजेट : खेल पुर्वाधारमा ७ करोड

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २ गते ८:४८
गण्डकीको बजेट : खेल पुर्वाधारमा ७ करोड

 कावासोती  । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटमा खेलकुदको पूर्वाधार निर्माणका लागि ७ करोड खर्च गर्ने भएको छ । चालु आवको तुलनामा आागमी आवमा घटाएर बजेट ल्याएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगरले शुक्रबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा खेलकुदको पूर्वाधार निर्माणका लागि ७ करोड ५५ लाख खर्च गरिने जनाएका हुन् । यसका लागि चालु आवमा त्यसको दोब्बर १५ करोड विनियोजन भएको थियो । अन्तर्राष्ट्रियस्तरको कभर्ड हलको सम्भाव्यता अध्ययन, क्रिकेट रंगशाला, एक स्थानीय तह एक खेलमैदान, जिल्लास्तरमा रंगशाला र खेलमैदान निर्माणका लागि सो रकम विनियोजन गरिएको गरिएको हो ।

बजेट अनुुसार ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिँदै मन्त्री आलेले ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यालय तहदेखि नै खेलकुद गतिविधि सञ्चालन गरी प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने बताएका छन् । खेलाडीको पहिचान र आमसम्मानका लागि गण्डकी खेलकुद पदक, खेलाडी कल्याणकारी कार्यक्रम र खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरिएको छ ।

प्रदेश सकारले यो वर्षदेखि ओलम्पिकमा भाग लिने गण्डकीका खेलाडीलाई प्रोत्साहन भत्ता दिन पनि बजेट छुट्याएको छ ।

युवा तथा खेलकुद शीर्षकमा ‘उद्यमी युवा, समृद्ध प्रदेश निर्माणमा टेवा’ मूलनारा साकार पार्न युवालक्षित कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कुल ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रकाशित : २०८० असार २ गते ८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI