पोखरा विमानस्थलमा ओर्लियो पहिलो अन्तर्राष्ट्रिय जहाज

NAWALPUR TIMES
प्रकाशित : २०८० असार ६ गते १०:३९
पोखरा विमानस्थलमा ओर्लियो पहिलो अन्तर्राष्ट्रिय जहाज

पोखरा । व्यावसायिकरूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भरेको हो ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेसनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः१० बजे पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ  । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गरेका छन् ।

पर्यटनमन्त्री किरातीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए । उनले पर्यटकले पोखराका सबै होटल खचाखच भएको सुन्न पाउँदा हर्षित भएको सामाजिक सञ्जालमा व्यक्त गरे ।

उक्त जहाजबाट हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुनलागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी एक सय ३५ यात्रु पोखरा ओर्लेका छन् । सिचुवान एयरलाइन्सको जहाज पोखरामा करिब एक घन्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौँ उड्ने गरी उडान तालिका तय गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरेका थिए । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते  अर्थात् २३–२४ जुन २०२३ मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल संघ नेपाल (हान) र नारालेसमेत सहयोग गरेका छन् ।

बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए ।

कार्यक्रममा सहभागी हुन चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर्ड उडानबाट सिधै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उत्रेका छ । फेस्टिभलको सहयोगी संस्थाका रूपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा छन् ।

चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन  वाङ सिनले बताए ।

प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फट रेस हुनेछ । विजेताले रु ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

उनले भने,  “दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवद्र्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । पोखरा विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित : २०८० असार ६ गते १०:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI