पार्टी नेतृत्व क्रियाशिल सदस्यले चयन गर्ने व्यवस्था गरौं, गुट आफै भत्किन्छ : केन्द्रिय सदस्य पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १७ गते १७:१३
पार्टी नेतृत्व क्रियाशिल सदस्यले चयन गर्ने व्यवस्था गरौं, गुट आफै भत्किन्छ : केन्द्रिय सदस्य  पौडेल

कावासोती । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले पार्टी नेतृत्व क्रियाशिल सदस्यले चयन गर्न सक्ने व्यवस्था गर्ने हो भने ठूलो समस्याको रुपमा रहेको गुटबन्दी आफै हटेर जाने बताएका छ्न ।

आईतबार नवलपुरको कावासोतीमा पार्टीको नगरसम्मेलनमा सहभागी हुन आएका केन्द्रिय सदस्य पौडेलले महाधिवेशन प्रतिनिधिले केन्द्रिय सभापति चयन गर्ने व्यवस्था कायम हुँदा सम्म नेपाली कांग्रेस भित्रको गुटबन्दी कहिले पनि नसकिने बताएका हुन । ‘हामी नेपाली कांग्रेसमा जति क्रियाशिल सदस्य छौ ती सबै सदस्यले केन्द्रिय सभापति चुन्न पायौ भने नेपाली कांग्रेसको गुट आफै भत्किन्छ, आफै सकिन्छ’, पौडेलले भने । महाधिवेशन प्रतिनिधिका नाममा गुटबन्दीको ठेक्कापट्टा पार्टीमा मौलाउदै गएको उनको भनाई थियो ।

कांग्रेसको अधोगतिको प्रमुख कारण गुटबन्दी भएको बताउदै केन्द्रिय सदस्य पौडेलले कांग्रेसको वर्तमान विधानले गुटलाई मलजल गरेको दाबी गरे । पार्टीको विधानलाई संशोधन गरेर केन्द्रिय सभापति देखि सम्पुर्ण पदहरु क्रियाशिल सदस्यले प्रत्यक्ष चयन गर्न सक्ने व्यवस्था गर्न सके गुटबन्दी हराउने तथा घात अन्तरघातको समस्या नरहने उनको भनाई थियो ।

यस्तै केन्द्रिय सदस्य पौडेल जनप्रतिनिधिमा पार्टीका तर्फ बाट उम्मेदवार बन्न अब पार्टी भित्रै प्राईमरी ईलेक्सनलाई अगाडी बढाउनु पर्ने कुरामा समेत जोड दिएका छ्न । प्राईमरी ईलेक्सन गरेर जनप्रतिनिधिको उम्मेदवार छान्न सके घात अन्तरघातको समस्या न आउने उनको दाबी थियो ।

नेतृत्व चयनका विधि र प्रक्रिया तथा प्राईमरी ईलेक्सनको व्यवस्था गर्नका लागि देशै भरका गाउँ तथा नगर सम्मेलनले निर्णय गरेर केन्द्रिय नेतृत्वलाई झकझक्याउनु पर्ने उनको भनाई थियो ।

प्रकाशित : २०८० भदौ १७ गते १७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI